दूरदराजका गाउँहरुमा सिटामोल र जीवनजलको अभाव त हुने गरेकै थियो तर तर अहिले राजधानी काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा सिटामोलको चरम अभाव भएको छ ।

लामखुट्टेबाट सर्ने डेङ्गुको सङ्क्रमण उपत्यकासहित मुलुकभर बढेसँगै डेङ्गुको असर कम गर्न प्रयोग हुने सिटामोलको बजारमा अभाव भएको हो ।
डेङ्गुविरुद्धको खास उपचार र औषधि नभएका र बिरामीले ज्वरो नियन्त्रणका लागि सिटामोल प्रयोग गर्नुपर्ने भएपछि सिटामोलको माग बढेको हो । डेङ्गुको सङ्क्रमणमा उच्च ज्वरो आउने भएकाले सिटामोल खान दिइन्छ ।
औषधि उत्पादकहरूका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ ।
तर, उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् ।
नेपाल औषधि उद्योग सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको दाबी गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएका छन् ।
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डे डेङ्गु सङ्क्रमण बढेकाले एकै पटक पारासिटामोल र सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिनु स्वाभाविक भएको बताउनुभयो । तर, पारासिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उहाँको दाबी छ ।
यसबीच औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले सिटामोल बजारमा अभावभन्दा पनि माग एक्कासी बढेकाले सबै ठाउँमा उपलब्ध नभएको बताउनुभयो । उहाँले हाल बजारमा देखिएको सिटामोल अभाव अबको तीन दिनमा समाधान हुने दाबी गर्नुभयो ।
हाल बजारको मागलाई ध्यानमा राखेर विभागले आइतबार मात्रै सबै औषधि उत्पादक उद्योगीलाई सिटामोलको उत्पादन बढाउने विषयमा लिखित र मौखिक निर्देशन दिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्