स्वास्थ्य

पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्सको जोखिम

पश्चिमी नाका गड्डाचौकीमा सावधानी नअपनाउँदा एमपक्स सङ्क्रमणको जोखिम बढेको छ । भारतमा हालै एक जनामा एमपक्स सङ्क्रमण पुष्टि भए पनि अझै नाकामा सावधानी अपनाइएको छैन ।

मङ्कीपक्स

भारतबाट गड्डाचौकी नाका भएर दैनिक तीन सयको हाराहारीमा मानिस स्वदेश फर्किंदैछन् । भारतबाट फर्किनेको सामान्य जाँच पनि नहुँदा सङ्क्रमणको जोखिम बढेको हो ।

गड्डाचौकीस्थित ‘हेल्थ डेस्क’मा भारतबाट फर्किनेमा कोरोना, डेङ्गु, एचआइभीलगायत रोग जाँच गर्ने गरिन्छ । उपकरण अभावमा एमपक्सको जाँच हालसम्म सुरुआत गर्न नसकिएको हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामी बताउनुहुन्छ ।

“हामीसँग उपकरण छैन । एमपक्ससम्बन्धी कुनै तालिम पनि पाएका छैनौँ”, उहाँले भन्नुभयो, “नेटमा हेरेर थाहा पाएको लक्षण मिल्दा मानिस आएमा निगरानी राख्छौँ । लक्षण, हाउभाउ हेरेर स्क्रिनिङ मात्रै गर्ने गरिएको छ ।”

उहाँका शङ्कास्पद लक्षण देखिए अस्पताल रेफर गर्ने गरिएको छ । हालसम्म शङ्कास्पद लक्षण देखिएका सात जनालाई रेफर गरिएको उहाँको भनाइ छ ।

भारतको विभिन्न ठाउँबाट दैनिक भित्रिने करिब अढाइ सय मानिसको स्क्रिनिङ भइरहेको छ । पैदल हिँडेर आउने मानिस स्क्रिनिङ पर्ने भए पनि सवारीसाधनबाट आउने मानिसको स्क्रिनिङ नै गर्न नसकिएको ल्याब टेक्निसियन धामी बताउनुहुन्छ । “गाडीमा आउनेहरू नाकामा रोकिँदैनन् । सिधै जान्छन् । त्यसैले उहाँहरूलाई स्क्रिनिङ नै गर्न भ्याइँदैन”, उहाँले भन्नुभयो ।

गड्डाचौकी नाका भएर महेन्द्रनगरदेखि दिल्ली र देहरादुनसम्म मैत्री बससेवा पनि सञ्चालनमा छन् । करिब एक दर्जन बसमा आउने यात्रु पनि जाँच नगरिकनै भित्रिने गरेका छन् ।

कतिपय यात्रु तेस्रो मुलुकबाट दिल्ली विमानस्थल हुँदै पनि आउने गरेका कारण सङ्क्रमणको जोखिम छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशीका अनुसार सरकारले नाकामा स्क्रिनिङ गर्नका लागि पत्राचार गरेको छ ।

“एमपक्स जाँचका लागि हामीसँग किट उपलब्ध छैन । स्क्रिनिङ गर्ने भन्ने परिपत्र आएको छ । हामीले त्यहीअनुसार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “स्क्रिनिङमा शङ्कास्पद देखिएकालाई अस्पताल जान भनेर काउन्सिलिङ गर्ने गरेका छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.