विश्व समाचार

विश्वको आधाभन्दा बढी जनसङ्ख्याको सामाजिक सुरक्षामा पहुँच : राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घले विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको सामाजिक सुरक्षामा पहुँच भएको जनाएको छ । यद्यपि, अझै पनि जलवायु परिवर्तनको प्रभावलगायत अन्य विषयको न्यूनिकरण आवश्यक रहेको राष्ट्र सङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)ले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार विश्वको ५२.४ प्रतिशत जनसङ्ख्याले सामाजिक सुरक्षाको लाभ प्राप्त गरेको छ । विश्वको आधाभन्दा बढी मानिसहरूले सामाजिक सुरक्षामा आफ्नो पहुँच सुनिश्चित गरेको यो पहिलो रेकर्ड हो ।

“यो स्वागतयोग्य प्रगति हो । तर अप्रकाशित वास्तविकता यो पनि हो कि अझै पनि ३.८ अर्ब मानिसहरू पूर्ण रूपमा असुरक्षित छन्,” विश्वव्यापी रूपमा तीन चौथाई भन्दा बढी बालबालिकाको अझै पनि कुनै पनि किसिमको सामाजिक सुरक्षा प्राप्त नगरेको जानकारी गराउँदै आईएलओले आफ्नो प्रतिवेदनमा भनेको छ ।

आईएलओले सामाजिक सुरक्षा क्षेत्रमा स्वास्थ्य सेवामा पहुँच र विशेष गरी बुढ्यौली, बेरोजगारी, रोगी, अशक्तता, प्रसूति वा परिवारमा मुख्य आम्दानी गर्ने व्यक्तिको मृत्यु साथै बच्चा भएका परिवारहरूका लागि सम्बन्धित आय सुरक्षा उपायहरूको पहुँच समावेश गरेको छ ।

“सामाजिक सुरक्षाको सन्दर्भमा विश्वमा रहेको भिन्नता हटाउन ढिलो भइरहेको छ”, आइएलओले चेतावनी दियो । “यही गतिमा विश्वका हरेक मानिसलाई कम्तिमा एउटा सामाजिक सुरक्षामा समावेश गराउन थप ४९ वर्ष लाग्नेछ”, प्रतिवेदनमार्फत चेतावनी दिइएको छ ।

आईएलओ प्रमुख गिल्बर्ट होङ्बोले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित विश्वका धेरै देशमा देखिएको सामाजिक सुरक्षा दरमा विशेष चिन्ता व्यक्त गर्नुभएको छ ।

“यस सङ्कटको सबैभन्दा क्रूर परिणाम भोगिरहेका देश वातावरणीय र जीविकोपार्जनका परिणामहरू सामना गर्न असक्षम छन्,” उहाँले भन्नुभयो ।

जलवायु सङ्कटको सबैभन्दा जोखिममा रहेका २० देशको कुल ९१.३ प्रतिशत अझै पनि कुनै पनि प्रकारको सामाजिक सुरक्षाको अभाव छ, बिहीबार सार्वजनिक भएको प्रतिवेदनले जनाएको छ ।

आईएलओले सार्वजनिक गरेको प्रतिवेदनले सामाजिक लाभले मानिसलाई आय सुरक्षा र स्वास्थ्य सेवामा पहुँचजस्ता कुराहरू सुनिश्चित गरेर जलवायुसम्बन्धी आघात अनुकूल बनाउन र सामना गर्न मद्दत गर्न सक्छ भन्ने कुरा औंल्याएको छ ।

आइएलओले विश्व हाल दुई धेरै फरक र भिन्न सामाजिक सुरक्षा मार्गहरूमा रहेको चेतावनी दिएको छ । उच्च आय भएका देशहरूको लगभग ८६ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा छन् ।

उच्च–मध्यम–आय भएका देशका ७१.२ प्रतिशत जनसङ्ख्याले समाजिक सुरक्षाको लाभ लिईरहेका छन् भने कम–मध्यम–आय भएका देशको ३२.४ प्रतिशत जनसङ्ख्या सामाजिक सुरक्षाको पहुँचमा रहेको प्रतिवेदनले जनाएको छ ।

उच्च आय भएका देशहरूले सामाजिक सुरक्षाको क्षेत्रमा आफ्नो कुल गार्हस्थ उत्पादनको १६.२ प्रतिशत खर्च गर्छन् भने जलवायु परिवर्तनको जोखिममा रहेका देशसहित कम आय भएका देशहरूले मात्र ०.८ प्रतिशत खर्च गर्छन्।

गरिब देशहरूलाई कम्तिमा आधारभूत सामाजिक सुरक्षा सुनिश्चित गर्न एक वर्षमा थप ती खर्ब आठ अर्ब ५० करोड डलर चाहिन्छ र त्यो लक्ष्यमा पुग्न अन्तर्राष्ट्रिय समर्थनको आवश्यकतामा आइएलओले जोड दिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.