राजनीति

रक्षा मन्त्रालयद्वारा नयाँ प्रधानसेनापतिको स्वागत, पुरानाको बिदाइ

रक्षामन्त्री मानवीर राईले मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेना राष्ट्र र जनताको सेवामा सदैव क्रियाशील रहेको बताउनुभएको छ ।

रक्षा मन्त्रालय

रक्षा मन्त्रालयद्वारा नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलको स्वागत तथा सेवा निवृत्त प्रधानसेनापति प्रभुराम शर्माको बिदाइ कार्यक्रममा उहाँले नेपाली सेनाले इतिहासका हरेक कालखण्डमा देश र जनताका हितमा सरकारको निर्देशन पालना गर्दै आएको बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो, “नेपाल राष्ट्रको निर्माणदेखि नै सेनाले सरकारको निर्देशनलाई जहिल्यै शिरोधार्य गर्दै मुलुक र जनताको सेवामा तत्पर रहिआएको छ । सेना राष्ट्रिय सुरक्षाका अतिरिक्त द्रुतमार्गसहित रणनीतिक महत्वका सडक पूर्वाधार निर्माणमा क्रियाशील छ ।”

प्रधानसेनापति सिग्देलले नेपाली सेना संविधान, कानुन र स्थापित मूल्यमान्यताको परिधिभित्र रही देश र जनताको हितका काम गर्दै सङ्गठनलाई सुदृढ तुल्याउने कार्यमा निरन्तर सक्रिय रहेको बताउनुभयो ।

रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गालले लामो अभ्यास, उच्च दृढता, आर्थिक अनुशासन, कानुनको परिपालना र अनुभवकै कारण गौरवमय इतिहास बोकेको नेपाली सेनाका सङ्गठन प्रमुख भई दुवै जनाले राष्ट्र र जनताको श्रीवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको समग्र सुरक्षा एवं प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्न मन्त्रालयले नीति निर्माण र सेनाले कार्यान्वयन तहमा अग्रणी भूमिका निर्वाह गर्नुपर्र्ने हुँदा दुवै निकयबीच सदैव सुमधुर र पारस्परिक सहयोगात्मक सम्बन्ध रहिआएको छ ।”

रक्षामन्त्री मानवीर राई रक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपाली सेनाका सेवा निवृत प्रधान सेनापति प्रभुराम शर्मालाई बिदाइ गर्दै । तस्बिर: प्रदीपराज

निवर्तमान प्रधानसेनापति शर्माले नेपाली सेनाजस्तो पवित्र सङ्गठनको नेतृत्वमा रही राज्य र जनताको सेवामा राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्न हरसम्भव प्रयत्न गरेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले मन्त्रालय र सेनाबीच अत्यन्त घनिष्ठ, सौहार्दपूर्ण र सुदृढ सम्बन्ध रही आएको बताउनुभयो । उहाँले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्रिय स्वाधीनताको संरक्षण र सम्वर्द्धनलगायत मुलुकको समग्र सुरक्षा प्रणालीलाई सुदृढ तुल्याउन निवर्तमान प्रधानसेनापति शर्माले नेतृत्वमा रहेर निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो ।

सेनाको थप सङ्गठन सुदृढीकरण, प्रतिष्ठा वृद्धि तथा क्षमता विकासलगायत काममा प्रधानसेनापति सिग्देलको कार्यकालमा विशिष्ट योगदान भएको र काठमाडौँ–तराई–मधेस दु्रतमार्गलगायतका विकास निर्माणलाई उच्च गतिमा अघि बढाउन सहयोग पुग्ने बताइएको छ । त्यस अवसरमा मन्त्री राईले प्रधानसेनापति र पूर्वप्रधानसेनापतिलाई सम्मान गर्दै मन्त्रालयकातर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.