राजनीति

सत्ता सहकार्यले कांग्रेसलाई अझ बलियो बनाउन मद्दत पुग्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता सहकार्यले कांग्रेसलाई आगामी दिनमा अझ बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ ।

सभापति देउवा

नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले नेतृत्व गरेका २१ स्थानीय तहलाई बिहीबार ललितपुरमा आयोजित सम्मान कार्यक्रममा सभापति देउवाले कांग्रेसले सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । “भोलिका चुनौतीपूर्ण दिनलाई अवसरका रुपमा लिएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

वर्तमान सत्ता गठबन्धनबाट देशभर खुसीयाली छाएको उल्लेख गर्दै सभापति देउवाले पार्टीका नेता तथा कार्यकर्ताको भावनाअनुसार नै वर्तमान सत्तासमिकरण बनेको बताउनुभयो ।

“कतिपयले दुई ठूला पार्टी मिलेपछि अरू पार्टी सिधिन्छन्, सिध्याउन खोजे भन्छन् । तर त्यस्तो होइन, कांग्रेस यस्तो चाहँदैन, एमालेको पनि यस्तो सोच देखेको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौँ । सहमतिअनुसार अहिले केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्षपछि उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ”, उहाँले भन्नुभयो ।

पार्टीका उपसभापति धनराज गुरुङले राजनीतिमा निराश छाइरहेको अवस्थामा नेपाली राजनीति र अर्थतन्त्रलाई गति दिन वर्तमान सत्ता गठबन्धन गठन भएको बताउनुभयो । उहाँले संविधानमा भएका कमजोरी सुधार गर्दै कामविहीन बनेको जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने बताउनुभयो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले निर्वाचित जनप्रतिनिधि र पार्टीको नेतृत्वसँग संवादबाट समस्या समाधानका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयो । “सात सय ५३ स्थानीय तहमध्ये तीन सय ३२ स्थानीय तह र दुई हजार ६ सय ६८ वडामा कांग्रेसको नेतृत्व छ, त्यहाँ रहेर प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने छ, अहिले निर्वाचित जनप्रतिनिधि र पार्टीको नेतृत्वसँगको समन्वय हुन नसकेको अवस्था छ, त्यसलाई संवादबाट समस्या समाधान गर्न निरन्तर लाग्नुपर्ने छ, यसका लागि चार महिने अभियान सुरुआत गर्न गइरहेका छौँ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले आगामी उपनिर्वाचनमा विगतमा कांग्रेसले जितेका २१ स्थानमा पार्टीको जीत सुनिश्चित गराउँदै अरु थप स्थानीय तहमा जीत हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य तथा स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यले पार्टीबाट निर्वाचित भएर स्थानीय सरकारको जिम्मेवारीमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै जनताको सेवा प्रवाहलाई ध्यान दिएकामा विभिन्न स्थानीय तहका नेतृत्वकर्तालाई सम्मान गरिएको बताउनुभयो ।

जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष राजन मेहेताले संविधानमा नै व्यवस्था गरेर अनुगमन गर्ने नाममा कायम राखिएको जिल्ला समन्वय समितिलाई जिम्मेवारविहीन बनाएर राखिएको भन्दै प्रभावकारी बनाउन नेतृत्व तहलाई आग्रह गर्नुभयो ।

सम्मानित हुने स्थानीय तहकोतर्फबाट मन्तव्य राख्नुहुँदै नेपाल नगरपालिका सङ्घका अध्यक्ष तथा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले तीन विधामा मूल्याङ्कन गरेर जिम्मेवारीअनुसार उत्कृष्ट काम गर्न जोश जाँगर सिर्जना गरेको बताउनुभयो ।

गाउँपालिका महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सम्मानले स्थानीय तहलाई सङ्घीयताको मर्मअनुरुप काम गर्न हौसला मिलेको बताउनुभयो । देशभरका सात सय ५३ स्थानीय तहमध्ये तीन सय ३२ स्थानीय तहमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको नेतृत्व रहेको छ ।

कांग्रेसले महालेखा परीक्षकको आव २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार कम बेरुजु हुने छ वटा स्थानीय तह, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आव २०७९/८० को स्थानीय तह संस्थागत स्वमूल्याङ्कनका आधारमा सात स्थानीय तह र आव २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनका आधारमा आठ स्थानीय तहलाई सम्मान गरेको हो ।

कांग्रेसले महालेखा परीक्षकको आव २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार कम बेरुजु हुने स्थानीय तह धादिङको नेत्रवती डवजोङ गाउँपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, सर्लाहीको विष्णु गाउँपालिका, काठमाडौँको नागार्जुन नगरपालिका, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र काभ्रेपलाञ्चोकको पनौती नगरपालिकालाई सम्मान गरेको छ ।

त्यस्तै आव २०७९/८० को स्थानीय तह संस्थागत स्वमूल्याङ्कनका आधारमा कांग्रेसले तीन नगरपालिका चार  गाउँपालिकालाई सम्मान गरेको छ । सम्मानित हुने नगरपालिकामा धादिङको नीलकण्ठ नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र चितवनको रत्ननगर नगरपालिका रहेका छन् ।

त्यस्तै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र धादिङको ज्वालामुखी गाउँपालिका छन् ।

त्यस्तै आव २०७९/८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा परेका चार नगरपालिका इलामको इलाम नगरपालिका, चितवनको खैरहनी नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई नेपाली कांग्रेसले सम्मान गरेको छ ।

गाउँपालिकातर्फ सिन्धुलीको ध्याङ्लेद गाउँपालिका, दैलेखको महाबु गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकालाई सम्मानित गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.