टाइम म्यागजीनले भन्यो बालेन विश्वका सय उदीयमान नेता
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विश्वका एक सय उदीयमान नेताको सूचीमा पर्नुभएको छ । अमेरिकाको टाइम म्यागजीनले तयार पारेको सन् २०२३ को ‘टाइम हन्ड्रेड नेस्क्ट’ सूचीमा बालेनको नाम पनि समावेश भएको हो ।
म्यागजीनले बालेन मेयर भएपछि मात्र होइन सन् २०१५ को विनाशकारी भूकम्पको समयमा बालेनले जनताको साना तथा अत्यावश्यक समाधानमा जोड दिएको उल्लेख गरेको छ ।
मेयर भैसकेपछि फोहोर विसर्जन, सरसफाइ, सुरक्षित पिउने पानी, सफा सडक र सहरी विकाससँगै सांस्कृतिक सम्पदाको संरक्षण जस्ता प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
त्यसो त म्यागजीनले प्रतिबद्धता पुरा गर्ने क्रममा सहरका गरीबमाथि असर परेको र उनीहरुको घर भत्काउने कदम गैरकानूनी देखिएको भन्दै बालेनले आलोचना खेप्नुपरेको समेत उल्लेख गरेको छ ।
‘स्ट्रक्चरल’ इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीय बालेनले स्वतन्त्र रूपमा चुनाव लडेको उल्लेख गर्दै म्यागजीनले टिकटक, ट्विटर र इन्स्टाग्रामको प्रयोग गरेर मतदातामाझ बालेन इफेक्टको प्रयोग गरेको जनाइएको छ ।
टाइम म्यागजीनले कलाकार, प्रतिभावान पपगायक, अन्वेषक, नेता, वकालतजस्ता विधामा समेत प्रभावशाली व्यक्ति छनोट गरेको छ । आफ्नो क्षेत्रमा प्रभाव हासिल गरेका व्यक्तिलाई ध्यानाकर्षण गराउन म्यागजिनले टाइम १०० व्यक्तिको सूची तयार पारेको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्