सन्दर्भ बालदिवस : शिक्षित, स्वस्थ र आत्मविश्वासपूर्ण बालबालिका नै मुलुकका कर्णधार
आजका बालबालिका भोलिको कर्णधार अर्थात् राष्ट्र विकास र समृद्धिको मेरुदण्ड हुन् । यसैले आज बालबालिकालाई उनीहरुको व्यक्तित्व विकासका लागि आधारभूत पक्षहरुलाई विश्वव्यापी रुपमा कायम गरिएको छ ।
तर, बालअधिकारका न्यूनतम पक्षहरु समेत नेपाली बालबालिकाले पूर्णरुपमा उपभोग गर्न पाइरहेका छैनन् । सहज शिक्षा, स्वास्थ्य जस्ता पक्षहरु अहिले पनि दुर्लभ जस्तै छ । शिक्षा हुनेखाने र हुँदा खानेहरुबीच चरम विभेद छ ।
दोहोरो शैक्षिक पद्धतिले आधारभूत शिक्षा ध्वस्तःप्रायको अवस्थामा छ । त्यस्तै बालश्रम शोषण, बालविवाह जस्ता समस्याहरु कायम रहेका छन् ।
बालअधिकार सम्बन्धी विश्वव्यापी महासन्धिको प्रावधानलाई टेकेर नेपालको संविधान २०७२ ले बालअधिकारलाई मौलिक हकको अंग बनाएको छ । संविधानको भाग–३ मा ‘मौलिक हक र कर्तव्य’ को व्यवस्था छ ।
यही भागको धारा ३९ मा बालबालिकाको हक–अधिकारबारे लेखिएको छ । मौलिक हकमा भएका अधिकार कसैले पनि खोस्न पाउँदैन । मौलिक हकमा भएका अधिकार नपाएमा सर्वोच्च अदालतमा न्याय माग्न जान पाइन्छ ।
बालबालिकालाई व्यवहारिक रुपमै भविष्यको कर्णधार मानेर उनीहरुबाट भविष्यको समृद्धि, सुन्दर, शान्त, भेदभावरहित उन्नत राष्ट्रको कल्पना गर्ने हो भने संविधानप्रदत्त अधिकार र विश्वव्यापी घोषणापत्रले लिपिबद्ध गरेका बालअधिकारका बुँदाहरु पूर्णतः कार्यान्वयन गर्नुपर्दछ । कागजी रुपमा जनाइएका प्रतिबद्धता व्यवहारमै ल्याउनुपर्दछ ।
बालअधिकार स्थापित गर्न सरकारदेखि परिवारसम्मको समान दायित्व हुन्छ । हरेक घरमा बालअधिकार सुनिश्चितताको महत्व र यसले भविष्यमा पार्ने सकारात्मक प्रभावका बारेमा चेतनशील बनाउनुपर्दछ ।
बालअधिकारको सबभन्दा प्रमुख पक्ष शिक्षा, स्वास्थ्य र मनोरञ्जन हो । यी तीन पक्षमा बालबालिकाहरुले निर्वाध रुपमा अघि बढ्न पाए भने देशको सुन्दर भविष्यको आधार तयार हुनेछ । शिक्षित, स्वस्थ र आत्मविश्वासले भरिएका बालबालिका नै भविष्यका कर्णधार हुनेछन् र उनीहरुलाई अहिलेदेखि नै देशभक्ति, आफ्नो संस्कृति, परम्परा, अभ्यास र इतिहासका गौरबगाथाप्रति गर्वगर्नसक्ने बनाउनु आवश्यक छ ।
आज जसरी विदेश जाने एत्रसूत्रीय एजेण्डा युवापुस्तामा विकसित भएको छ । यसको कारण उचित शिक्षा, अवसरको अभावले नै हो । अभिभावकहरुले छोराछोरीलाई देशमै केही गर्नुपर्छ भन्नुको साटो “विदेश जानुपर्छ, राम्रोसंग अंग्रेजी पढ्नु” भन्ने गलत अभ्यास जुन चलिरहेको छ त्यसको अन्त्यका लागि बालअधिकारका आधारभूत पक्षहरुको अक्षरशः पालना गर्दै कार्यान्वयन गर्नु हो । असल, सान्दर्भिक र गरिखान सक्ने शिक्षामा सबैको ध्यान जानुपर्दछ ।
एउटा व्यक्तिलाई तब मात्र शिक्षित वा पढेलेखेको मानिन्छ जब उसले आफै गरिखाने बन्न सक्छ । त्यस्तै शिक्षाले व्यक्तिमा राम्रो संस्कार सिकाउँछ, देशभक्ति जगाउँछ अनि आफ्नो धर्म, संस्कृति, मूल्य–मान्यतामा आस्था राख्ने हुन्छ । तर, आजभोलि त्यस्तो शिक्षा हराएको छ ।
राजनीतिक परिवर्तन, संक्रमण लगायत अनेक कारणले मुलुकको शिक्षा क्षेत्र अहिले बाटो बिराएको छ । अब यसमा सुधार गर्ने समय आइसकेको छ । मुलुकको उज्जवल भविष्य निर्माणमा चासो, चिन्ता र प्रतिबद्धता जनाउने हो भने अब बालबालिकालाई पढाउने मात्र हैन कि सिकाउने काम गर्नैपर्छ ।
बालअधिकारको शिक्षा प्राप्तिको अधिकार केवल बालबालिकाका लागि मात्र नभएर देश हुँदै महादेश र विश्वव्यापी रुपमा प्रभाव पार्ने प्रतिभा तयार पार्नु पनि हुन्छ । यसको सुरुवात विद्यालय तहबाटै गर्नुपर्दछ । किनभने विद्यालयको शिक्षाबाटै भविष्यको निर्धारण गर्दछ । हामीले हाम्रा बालबालिकालाई विद्यालय तहबाटै घोक्ने हैन कि सिक्ने अभ्यास गराउन सक्यौं भने त्यो नै उसको शिक्षा हुन्छ । किताब पढेर त्यसको अभ्यास हुन पाएन भने त्यो शिक्षाको कुनै मूल्य हुँदैन ।
बालबालिकाका लागि चरित्र विकास सबभन्दा महत्वपूर्ण पक्ष हो र यसका लागि विद्यालय सर्वाधिक जिम्मेवारी विद्यालयको हुन्छ । विद्यालयमा नैतिक, सामाजिक पाठ पढाइन्छ । तर यसको अभ्यास गराइँदैन । पढाईसंगै अभ्यास पनि गराउने काम विद्यालयहरुले गरे भने बालबालिकामा असल चरित्र विकास हुन्छ । किनभने बालबालिकाको असल चरित्र निर्माणमा सघाउ पुग्ने गतिविधि संचालन गर्नु पनि बालअधिकार महासन्धि कार्यान्वयनको प्रमुख कडी हो ।
बालअधिकार स्थापित गरी बालबालिकाको समग्र पक्षको विकासमा सरकारदेखि समाजसम्मको समान दायित्व हुने भएकाले कानुन बनाएर सार्वजनिक गर्दैमा अधिकार स्थापित हुँदैन । यसका लागि सोही अनुसारको सामाजिक परिवेश निर्माण गर्नुपर्दछ । किनभने समुन्नत, सहिष्णु समाज निर्माणमा समाजकै भूमिका महत्वपूर्ण हुन्छ ।
गाउँ, घरमा झैझगडा नहुने, मेलमिलाप, सहिष्णुता र सद्भाव प्रदर्शन भैरहेको छ भने बालबालिकामा स्वाभाविक रुपमा शान्त, सहयोगी, सहिष्णु व्यवहार प्रकट हुन्छ । बालबालिकाका लागि असर चरित्र निर्माणमा सामाजिक परिवेशको ठूलो महत्व रहेकाले समाजका असल मानिसहरुको संगतमा उनीहरुलाई अभ्यस्त तुल्याउन, अग्रजहरुले सोही अनुसारको भूमिका निर्वाह गर्नुपर्दछ ।
चरित्रवान बालबालिका नै भविष्यमा देशका अशल चालक बन्नसक्छन्, जुन हामी सबैको अपेक्षा हो । यसका लागि बालअधिकारका आधारभूत सिद्धान्तको पूर्ण कार्यान्वयन आवश्यक छ ।
जबसम्म मानिस सदाचारी र कर्तव्यबोध गर्ने बन्दैन हाम्रो समाज पनि माथी उठ्न सक्दैन । त्यसका लागि शिक्षा नै पहिलो खुड्किलो हो । हाम्रा भविष्यका कर्णधारलाई सदाचारी, सुसंस्कारी र कर्तव्यबोध गराउने शिक्षा दिन थाल्ने हो भने बालबालिकालाई किताबीसंगै व्यवहारिक शिक्षा अनि नैतिक, सामाजिक र इतिहास तथा पौराणिककालका सन्दर्भहरु जोडेर मानवीय सम्वेदनशील भावनाको विकास गराउन अग्रसर हुनुपर्दछ ।
यसको व्यापकतासंगै देशले सदाचारी, संस्कारी पात्रहरु पाउनेछ । हाम्रो देशका लागि आज आवश्यक यस्तै युवाहरुको हो, जसमा व्यक्तिगत लालचभन्दा सामाजिक उत्तरदायित्व लिने चाहना बढी हुनेछ ।
विज्ञान र प्रविधको कुरा मात्रै गरेर किताब घोकाएर र सूत्रहरु कण्ठ पार्न लगाएर मात्र देश विकास हुँदैन भन्ने चेतनाको विकास कम्तिमा शिक्षण पेशामा लागेकाहरुमा हुनुपर्छ । किताब पढाएर मात्रै बालबालिकाको शिक्षा प्राप्त गर्ने मौलिक हक कार्यान्वयन वा पालना भैरहेको छ भन्ने ठान्नु हुँदैन ।
पढाएको किताबबाट उनीहरुले के सिके ? के जाने ?? भन्ने महत्वपूर्ण पक्षलाई सबैले आत्मसात गर्नुपर्दछ । यसका लागि परनिर्भर हुने, पलायन हुने हैन कि आत्मनिर्भर हुने शिक्षा आवश्यक छ । आजका बालिबालिकालाई शिक्षित, प्रशिक्षित र सीपवान बनाउनु नै उनीहरुको मौलिक हक कार्यान्वयन हुनु हो र देशको भविष्य निर्धारण हुनु हो ।
समाजका हरेक अंग, पात्रले आजका बालिबालिकाको शिक्षा, स्वास्थ्य, मनोरञ्जन र व्यक्तित्व विकासमा सघानु आफ्नो पनि भविष्य सुधार्न हो अर्थात् अप्रत्यक्ष लगानी हो भन्ने बुझ्र कदम चाल्नसके नेपालबाट बालअधिकार कार्यान्वयनका समस्याहरु हटेर मुलुक समुन्नतिको दिशामा अघि बढ्नेछ ।
यसका लागि आजका बालिबालिका शिक्षित, स्वस्थ, तन्दरुस्त रहँदै समाजका हरेक पक्षमा आफूलाई उपस्थित गराउनसक्ने क्षमताको विकास हुनुपर्दछ । यो हामी सबैको दायित्व हो ।
(लेखक श्रेष्ठ निलगिरि विद्यालय पकनाजोल, काठमाडौंका संचालक सदस्य हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्