क्रिकेटखेल

नेपाल अभ्यास खेलमा विजयी, एचपी जगुवार्स ६६ रनले पराजित

विश्वकप लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न क्यानडामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सिरिज पूर्व खेलिएको आफ्नो अभ्यास खेलमा विजयी भएको छ । शुक्रबार राति भएको खेलमा नेपालले क्यानडाको स्थानीय टोली एचपी जगुवार्सलाई ६६ रनले पराजित गरेको हो ।

क्यानडाको टोरोन्टोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ४७ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार शाहले अविजित रहँदै ४७ रन बनाए भने कुशल भुर्तेलले ४१ रन जोडे ।

त्यस्तै कप्तान रोहित कुमार पौडेलले ३३ रन जोड्दा भीम सार्कीले २१, गुलसन झा र आशिफ शेखले समान १९-१९ तथा दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जगुवार्सका लागि जसकरन बुटर, इरफन सोदात र शिल पटेलले समान २-२ विकेट लिए भने जाहिद सिरजाद, सुकजिन्दर सिंह र शिभम् शर्माको भागमा समान १-१ विकेट रह्यो ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य लिएर मैदान उत्रेको जगुवार्स ३९ ओभरमा १ सय ८१ रनमा समेटिएको थियो । जगुवार्सका लागि अजयविर सिंहले सर्वाधिक ५५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै नदिम मन्जराले २९ रन जोडे । नेपालका लागि ललितनारायण राजवंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिँदा करण केसी र कुशल मल्लको भागमा समान १-१ विकेट रह्यो ।

विश्वकप लिग-२ को आफ्नो दोस्रो श्रृंखलामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्दैछ । विश्वकप लिग- २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्ने छ भने सेप्टेम्बर १८ र २४ मा नेपालले ओमानसँग खेल्ने छ । विश्वकप लिग- २को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.