बाल मन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर छ : मन्त्री आचार्य
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालमन्दिरमा भएका अनियमितताप्रति मन्त्रालय गम्भीर रहेको बताउनुभएको छ ।
उनान्साठीऔँ राष्ट्रिय बाल दिवसका अवसरमा नेपाल बाल सङ्गठन, केन्द्रीय कार्यलय (बाल मन्दिर) द्वारा शुक्रबार आयोजित ‘पुरस्कार तथा प्रमाणपत्र वितरण’ समारोहमा मन्त्री आचार्यले विगतमा बालमन्दिरका जग्गा/जमिन, भौतिक सम्पत्तिमाथि भएका अनियमिततालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको बताउनुभएको हो ।
“विगतमा अनैतिक र अवैधानिक किसिमले लिएका सम्पत्ति बाल सङ्गठनको नाममा आउनुपर्छ । बाल सङ्गठनका नाममा भएका भौतिक सम्पत्तिलाई व्यवस्थित र एकीकृत गर्दै सम्पूर्ण बालबालिकाको हक, हितमा लगाउनका निमित्त मन्त्रालय गम्भीर रहेको छ”, उहाँले भन्नुभयो, “बालमन्दिरका नाममा करोडौँ सम्पत्ति छ तर संरक्षित बालबालिका अत्यन्तै दयनीय अवस्थामा बसिरहेका छन् ।”
बाल सङ्गठनका विकृति विसङ्गतिलाई हटाएर सही बाटोमा लैजान पहल गर्ने उहाँको भनाइ छ । बाल सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले २०२१ सालदेखि नेपाल बाल सङ्गठनको स्थापना भएसँगै नेपालले राष्ट्रिय बाल दिवस मनाउँदै आएको जानकारी दिँदै बाल मन्दिरका इतिहासका पानाको संरक्षण गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चित्रकला प्रतियोगितामा ३४ वटा विद्यालयबाट ९९ बालबालिकाले सहभागिता, बालगीत प्रतियोगितामा २४ विद्यालयबाट एक सय १७ बालबालिकाको सहभागिता र नृत्य प्रतियोगितामा २० वटा विद्यायलबाट एक सय ३६ जना बालबालिकाको सहभागिता रहेको सङ्गठनले जनाएको छ ।
सोही कार्यक्रममा ‘बालक पत्रिका’ लोकापर्ण भएको थियो । मन्त्री आचार्य, सङ्गठनका अध्यक्ष न्यौपाने, वरिष्ठ समाजसेवी राधिका शाक्य र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले संयुक्तरूपमा उक्त पत्रिका लोकार्पण गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्