माओवादी केन्द्रले संसद् अवरुद्ध गर्ने निर्णय गरेसँगै प्रतिनिधि सभाको बैठक स्थगित
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण भएको बैठक सोमबार दिउँसो १ बसे बस्ने गरि स्थगित भएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद् अवरुद्ध पार्ने निर्णय गरेसँगै सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो । संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)ले छलफलका लागि समय माग गरेको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘जनयुद्ध’ लाई अपमान गर्ने भाषा नसच्याउँदासम्म बैठकमा विरोध जारी रहने निर्णय गरेको जनाएको थियो ।
यसअघि आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक सहमति नजुटेकै कारण सवा ३ बजेसम्मका लागि स्थगित भएको थियो । यो बीचमा पनि सहमति जुटन नसकेपछि बैठक स्थगित भएको हो ।
नेकपा (माओवादी केन्द्र) ले हिंसा शब्द रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने जानकारी सभामुख घिमिरेलाई दिएको थियो । यस अघि सोही विषयमा सहमति जुटाउन आज बिहान सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको संसद्मा अवरोध जारी राख्ने बताएको थियो ।
यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो ।
यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरुले संसद्मा अवरोध गरेका थिए । ‘माओवादी हिंसा’ शब्द संसदीय कि असंसदीय भन्ने विवादले यही भदौ २६ गतेको प्रतिनिधि सभाको बैठक अवरुद्ध भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्