राजनीति

गृह मन्त्रालयका महिला कर्मचारीलाई उपप्रधानमन्त्री श्रेष्ठले दिनुभयो तीजको शुभकामना

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौँ पक्ष भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ

गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उहाँले महिला कर्मचारीलाई तीजको शुभकामनासमेत दिनुभयो । तीज एक सामाजिक सांस्कृतिक पर्व भइसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्ने र खानपिन तथा लगाईखुवाइको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने उहाँले बताउनुभयो । “उल्लास त गर्ने नै हो” उहाँले भन्नुभयो “तर आफ्नो जिम्मेवारीमा सधैं प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर ।”

निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उहाँले स्मरण गर्नुभयो । महिला कर्मचारीसहित एकैछिन नाच्नुभएका श्रेष्ठले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्ने बताउनुभयो ।

यसैबीच ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि तीज पर्वलाई व्यवस्थित रुपले सभ्य र सामान्य तरिकाले मनाउनुपर्ने बताउनुभयो । उहाँले हाम्रा परम्परागत पर्वका सकारात्मक पक्षलाई अनुशरण गर्नुपर्ने र नकारात्मक पक्षलाई भने क्रमशः छाड्दै जानुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले नेपाली पर्वलाई थप मौलिक बनाएर अगाडि बढाउन आग्रह गर्दै यसलाई महिला अधिकार र न्यायका पक्षमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले यस पर्वका सांस्कृतिक पक्षका बारेमा उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.