यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गरेको छ । भदौ २९ गते शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यस्तै सरकारले कर प्रणाली सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लीको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै बैठकले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृत दिने, सिंचाई नीति २०८० स्वीकृत गर्ने नेपाल नागरिकता तेस्रो संशोधन नियमावली २०८० स्वीकृत गर्ने र विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा प्रस्तुत गर्न स्वीकृत दिने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
त्यसैगरी, संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने र हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने सरकारको निर्णय भएको छ ।
यसैगरी बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जपीडित जनताको न्यायिक समस्या स्थायीरुपमा समाधानका लगि अधिकारसम्पन्न न्यायिक आयोग गठन गरिने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्