जल/वातावरण

‘हाइड्रोजन ऊर्जाको माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान दिन सकिन्छ’

हाइड्रोजन ऊर्जाको माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान दिन सकिन्छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

हाइड्रोजन ऊर्जा

नेपाल इनर्जी फाउन्डेसनको आयोजनामा आइतबार ललितपुरमा आयोजित ‘नेपालको सन्दर्भमा हाइड्रोजन ऊर्जाको व्यावसायिकीकरणसम्बन्धी छलफलः अवसर र चुनौतीहरू’ कार्यक्रममा मन्तव्य राख्ने अधिकांश वक्ताहरुले विश्वव्यापी चासो र चिन्तालाई सम्बोधन गर्दै हाइड्रोजन ऊर्जा निर्यात गरेर आर्थिक लाभ हासिल गर्न सकिने बताएका हुन् ।

विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धितालले सहुलियत ऋण र अनुदानको प्रयोग गरेर हाइड्रो इनर्जीका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो ।

“सरकारको हाइड्रोजन नीति पनि छ, यसलाई आधार बनाएर हाइड्रोजन इनर्जीको उत्पादनमा जानुपर्छ, यसमा नमूना परियोजना गरेर नेपाल सम्भव छ है भन्ने सन्देश सरकारलाई प्रमाणित गरेर देखाउनुपर्ने आवश्यकता रहेको छ,” उहाँले भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नवीकरणीय ऊर्जालाई अगाडि बढाउन सबै मिलेर लागौँ भन्नुभयो । उहाँले नेपालमा बनेका लघुजलविद्युत् आयोजनालाई दिगो बनाउन राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्छ भनेर पहल गरेको भन्दै अहिलेको समयमा केही सुधार गर्ने हो भने देशका एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म लघुजलविद्युत्हरुलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिन्छ भन्नुभयो ।

उहाँले लघुजलविद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सुरक्षामा कुनै पनि सम्झौता नगरी प्रविधिको प्रयोग गरेर सरलीकरण गर्ने कार्यमा लाग्नुपर्छ भनेर जोड दिएका छौँ भन्नुभयो ।

“लघुजलविद्युत्का बहुआयामिक पाटा छन्, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनेदेखि रोजगारी सृजना गर्ने सम्मका कामहरु हुन्छन्,” कार्यकारी निर्देशक ढकालले भन्नुभयो ।

नेपालमा २० प्रतिशत मात्रै विद्युतीकरण भएको अवस्थामा सुरु भएको लघुजलविद्युत् अहिले राष्ट्रिय प्रसारण लाइनमा स्थापित गरिनुपर्छ भन्नुहुँदै उहाँले विपद्को जोखिममा रहेकाहरुलाई जोगाउन सङ्गठित प्रयास गर्नुपर्छ भन्नुभयो ।

कार्यकारी निर्देशक ढकालले अब नयाँ बनाउन लाग्ने र अनुदान दिनेभन्दा पनि बढिसकेको परियोजनालाई दिगो सञ्चालनका हिसाबले काम गर्न सकिने देखिन्छ भन्नुभयो ।

नेपाल इनर्जी फाउन्डेसनका उपाध्यक्ष शेरसिंह भाटले नेपालले हरेक वर्ष कुल रु तीन खर्ब ७० अर्ब ऊर्जा आयातमा खर्च गर्नुपरिरहेको छ भन्नुहुँदै देशमै इनर्जी उत्पादन गरेर उर्जा आयात प्रतिस्थापन गर्नुपर्छ भन्नुभयो ।

उहाँले फोसियल्स फ्युलका कारण भइरहेको वायु प्रदूषण, यसका कारण निम्तिएको जलवायु परिवर्तन रोक्न हाइड्रोजन इनर्जी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै हाइड्रो इनर्जीको लाभ नेपालले लिनसक्ने अवस्था छ भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्धक अच्युतबाबु घिमिरेले नेपालमा हाइड्रोजन इनर्जीको अवसर भएको उल्लेख गर्दै भण्डारण र वितरण व्यवस्थापनलाई ध्यान दिएर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वव्यापी चासो र चिन्तालाई सम्बोधन गर्दै हाइड्रोइनर्जी मात्रै नभएर हाइड्रोजनलाई नै निर्यात गर्न सकिने अवस्था रहेको धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष मोहनदास मानन्धरले हाइड्रोजन ऊर्जा र नवीकरणीय ऊर्जाका लागि छुट्टै नियामक निकाय आवश्यक छ भन्नुहुँदै नियमन निकाय आवश्यक छ, फोसियल फ्युललाई निरुत्साहित गर्न त्यसको स्थानमा प्रतिस्थापन गर्नुपर्छ र यसका लागि कार्वन फन्डलाइ उपयोग गर्नुपर्छ भन्नुभयो ।

नेपाल इनर्जी फाउन्डेसनका प्रबन्ध निर्देशक डिल्ली घिमिरेले इनर्जी क्षेत्रमा नसमेटिएका विषयलाई अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो ।

उहाँले नेपालमा हाइड्रोजन फ्युलको सम्भावना, सम्भाव्यता, मूल्य र बजारको बारेमा छलफलको आरम्भ गरी यसतर्फ काम गर्न निजी क्षेत्रलाई आकर्षित गर्न सरकारलाई घच्घच्याउने संस्थाको उद्देश्य रहेको जानकारी गराउनुभयो ।

राससका आलेख विभाग प्रमुख अधिकारीद्वारा लिखित पुस्तक लोकार्पण
कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का आलेख विभागका प्रमुख कृष्ण अधिकारीद्वारा लिखित ‘लघुजलविद्युत् र दिगो सञ्चालनको अभ्यास’ विषयक पुस्तक लोकार्पण गरिएको थियो ।

नेपालको लघुजलविद्युत् क्षेत्रको विविध पक्षलाई समेटेर पत्रकार अधिकारीले तयार पार्नुभएको पुस्तकमा नेपालमा लघुजलविद्युत्को अवस्था, लघुजलविद्युत्मा समुदाय केन्द्रित अवधारणा, सरकारी नीतिगत व्यवस्था, लघुजलविद्युत्को सम्भावनालगायतका सन्दर्भ सामग्री समेटिएका छन् । विषयवस्तुलाई तीन खण्डमा विभाजन गरेर तयार पारिएको उक्त पुस्तक १३२ पृष्ठको रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.