राजनीति

राष्ट्रिय शिक्षा दिवस मनाइदै, विविध कार्यक्रम र पुरस्कारको घोषणा

नेपाल सरकारले असोज २ गते विविध कार्यक्रमसहित राष्ट्रिय शिक्षा दिवस मनाउने भएको छ। समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको अध्यक्षतामा बनेको राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिले “ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता” भन्ने नारासाथ देशैभर साताव्यापी दिवस मनाउन लागिएको हो ।

दिवसलाई भव्य बनाउन राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी उपसमिति, कार्यक्रम व्यवस्थापन उपसमिति, शैक्षिक स्मारिका प्रकाशन उपसमिति, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचार प्रसार उपसमिति, समाज कल्याण शिक्षा पुरस्कार उपसमिति गठन भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस¸ २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक (सामुदायिक) तथा निजी लगानीका विद्यालय¸ प्राविधिक तथा व्यावसायिक तालिम परिषद्न्त अर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थाहरूलाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम रहेको छ।

उत्कृष्ट विद्यालयतर्फ राष्ट्रिय शिक्षा पुरस्कारतर्फ २०८० सालको कक्षा १२ को नतिजा मूल्याङ्कनका आधारमा सार्वजनिक र निजी लगानीका विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई राष्ट्रिय सिल्ड, ध्वजासहित रु तीन लाख, दुई लाख र एक लाख नगद पुरस्कार र प्रमाणपत्रसहित विद्यालयतर्फको राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ।

प्राविधिक शिक्षालयतर्फ परीक्षा समेतका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने प्राविधिक शिक्षालयलाई मूल्याङ्‌कन तथा सिफारिसको आधारमा विभिन्न चार वटा प्राविधिक शिक्षालयहरूलाई राष्ट्रिय ध्वजा र रू एक लाख नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

यसै गरी उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कारतर्फ विश्वविद्यालय अन्तर्गत आङ्गिक¸ सम्बन्धन प्राप्त सामुदायिक र सम्बन्धन प्राप्त निजी क्याम्पस गरी तीन वटा क्याम्पसलाई रु दुईलाख पचास हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने छ।

उच्च शिक्षातर्फ नेपाल विद्याभूषण क २६४ जना, नेपाल विद्याभूषण ख ३५ जना, नेपाल विद्याभूषण ग २१ जना, नेपाल छात्रा विद्यापदक क १५ जनालाई प्रदान गरिनेछ ।

समाज कल्याण शिक्षा पुरस्कारतर्फ सडक बालबालिका, एचआइभि एड्स संक्रमितका सन्तान, विपन्न, अनाथ, अशक्त तथा असहाय बालबालिकाहरूलाई पालनपोषणसहित शिक्षा प्रदान गरी उल्लेखनीय योगदान पुर्‍याएका संस्थाहरूमध्ये स्वीकृत मापदण्डको आधारमा छनौट भएका दुई वटा संस्थालाई नगद पुरस्कार रु दुई दुई लाखसहित प्रशंसापत्र प्रदान गरिनेछ।

त्यसै गरी शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा राष्ट्रिय शिक्षा पुरस्कार स्वरूप विद्यालयतर्फ सामुदायिक विद्यालयका शिक्षकमध्येबाट ७७ जिल्लाका ७४ जना, निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना, विविद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय कर्मचारी र बालविकास शिक्षक मध्येबाट ३५ जना लाई पुरस्कृत गरिनेछ ।

त्यस्तै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारी मध्येबाट पाँचजना, विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारी मध्येबाट पच्चीसजनालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा शैक्षिक स्मारिका २०८१ विमोचन हुनेछ भने विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, साथै शैक्षिक गतिविधि झल्कने विविध सामग्रीको प्रदर्शनी समेत गरिने जनाइएको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.