राजनीति

आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रबर्द्धन गर्नुपर्छ

शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री विद्या भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रबर्द्धन गरी राष्ट्रिय उत्पादन बढाउने कार्यमा लाग्न नेपालका वैज्ञानिकहरुलाई अनुरोध गर्नुभएको ।

मन्त्री भट्टराईले असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा मनाइएको १२ औँ राष्ट्रिय विज्ञान दिवसको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

कार्यक्रममा मन्त्री भट्टराईले सबैमा डिजिटल साक्षरता विकास गर्नु आवश्यक भएको बताउँदै अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरी विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सक्नुपर्ने बताउनुभयो ।

विज्ञान तथा प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति रहेको चर्चा गर्दै उहाँले वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर रू एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गर्नुभयो ।

मन्त्री भट्टराईले विश्वविद्यालय एवम् निजी तथा सरकारी अनुसन्धान संस्थामा भएका अनुसन्धानका उपलब्धिलाई व्यवसायीकरणका लागि सहजता प्रदान गर्न तथा उद्योग र पूर्वाधार क्षेत्रमा रहेका समस्याको समाधानका विषयमा अनुसन्धान गर्न एकेडेमिया-निजी क्षेत्रको इन्टरफेसको रूपमा कार्य गर्न अनुरोध पनि गर्नुभयो ।

मन्त्रीले भट्टराईले उदीयमान प्रविधिका रूपमा विकास भइरहेका सेटलाइट सूचना संचार, रोबोटिक्स, एआई तथा न्यूक्लियर टेक्नोलोजी जस्ता प्रविधिको समेत उपयोग गरी देशको सेवा प्रवाह, उत्पादन र उत्पादकत्वमा गुणात्मक वृद्धि गर्ने दिशामा केन्द्रित रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा युवा उद्यमी डा. प्रतिभा पाण्डे, शिक्षा सचिव डा. दिपक काफ्ले र विज्ञान सचिव विश्वबाबु पुडासैनी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

विज्ञान प्रविधिका क्षेत्रमा उल्लेख्य योगदान विभिन्न क्षेत्रका महानुभावलाई पुरस्कृत गरिएको कार्यक्रमको उद्घाटन रोबोटिक प्रविधियुक्त इलेक्ट्रोनिक एपबाट पानसमा दियो बालेर गरिएको थियो ।

यस वर्षको विज्ञान दिवसको आदर्श वाक्य “विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि” रहेको छ। नेपाल सरकारले विसं २०६९ सालदेखि राष्ट्रिय विज्ञान दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.