सम्पादकीय

सहकारी ठगबाट पीडित जनतालाई कसले न्याय दिने ?

देशभरका तीन सयभन्दा बढी सहकारी संस्थाका संचालकहरुले बचतकर्ताको दुई खर्बभन्दा बढी रुपैयाँ हिनामिना गरेको तथ्य बाहिरिएको छ । सहकारीको रकम ठगी गर्नेहरुलाई कारबाही गरी बचत फिर्ताका लागि पीडितहरु आन्दोलित छन् । तर, सरकार, राजनीतिक दलका नेता मौन छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गोर्खा मिडियामा रहँदा सहकारीको रकम ठगेको भन्दै छानबिनका लागि संसद अबरुद्ध गरियो । छानबिन समिति बन्यो र संसदीय समितिले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । छानबिन समितिको प्रतिवेदनले रविलाई सहकारी ठगीमा संलग्न नभएको तर, सहकारीबाट गोर्खा मिडियामा आइसकेको रकम परिचालनमा संलग्न रहेको भन्ने प्रतिवेदन दियो ।

सो प्रतिवेदनमा सहकारीबाट अनियमित तवरले गोर्खा मिडियामा आएको रकम परिचालनमा रवि लामिछाने लगायतका चारजना संलग्न रहेका कारण “चेकमा हस्ताक्षरकर्ता भएको नाताले रविको पनि दायित्व रहन्छ र उनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न नेपाल सरकारलाई सिफारिश गरिन्छ” भनिएको छ ।

यति भएपछि रविको मुद्दा सकियो, सरकारले अनुसन्धान गर्ला, आवश्यक परे कानुन बमोजिम केकस्तो कारबाही गर्नुपर्ने हो गर्ला ? तर, सहकारी भनेकै रवि मात्र होइनन् । समस्या लाखौं बचतकर्ताको हो । यो विषय भने सबैतिरबाट ओझेलमा पारिएको छ ।

प्रतिवेदनमा सहकारीका बचतकर्तालाई कसरी रकम फिर्ता गर्ने, ठगी गर्नेलाई कसरी कारबाही गर्ने, सहकारीहरुलाई कसरी व्यवस्थित र नियमन गर्ने भन्ने लगायतका अनेक सुझाव समेटिएको सातसय पृष्ठको प्रतिवेदनका अन्य अंशहरुमा कसैको चासो छैन ।

सहकारी ठग भनेकै रवि र रवि भनेकै सहकारी ठग हो भन्ने शैलीमा जसरी राजनीतिक नेताहरु उफ्रिए अहिले उनीहरु मौन छन् । रविलाई फसाउने ढोका बन्द भैसकेपछि “रविले सहकारीबाट अवैध तरिकाले ऋण ल्याएको प्रमाण मसंग छ” भन्दै संसदमा कागजको टुक्रा हल्लाउनेहरुको त अहिले अनुहार र बोली सुन्न पनि गाह्रो परेको छ ।

रविका विषयमा थप बोल्ने र आरोप लगाउने कुरा केही छैन, तर सहकारीबाट आएको रकम परिचालनमा सहभागी भएको नाताले कारबाहीको भागी हुनुपर्ने हो भने त्यो कुन कानुन अन्तर्गत हुन्छ ? समितिले कुनै कानुनको धारा, दफा, उपदफा उल्लेख गरेको छैन । समितिको सिफारिश अनुसार रविलाई कारबाही गर्ने स्पष्ट कानुन नै नभएको कतिपय कानुनविद्हरुको तर्क छ ।

सरकार मौन छ, राजनीतिक दलका नेताहरु मौन छन्, रविले मात्रै दुई खर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको शैलीमा नेताहरु प्रस्तुत भैदिंदा लाखौं सहकारी पीडितहरुमाथि घोर अन्याय भएको छ ।

नेताहरु एउटा रविको पछि लाग्दा सहकारी पीडितहरुको आँसुले उनीहरुलाई छुँदै छोएको छैन । सहकारीका विषयमा ठूलाठूला कुरा गर्ने, सहकारी ठगलाई कारबाही हुनैपर्छ भन्नेहरुकै दलका नेताहरु करोडौं रुपैयाँ बचत हिनामिनामा संलग्न भएको उजुरी परिसकेपछि आफूले खनेको खाल्डोमा आफैं परेजस्तो भएका छन् ।

सहकारी समस्या समाधान हुनैपर्छ, लाखौं बचतकर्ताको रकम फिर्ता हुनैपर्छ । राजनीतिक स्वार्थका लागि मात्र कुनै एक व्यक्तिमाथि खनिंदा यसले जनतामा घोर निराशा जन्माइरहेको छ । जनताको पैसा लुट्नेहरु प्रमुख दलमा राम्रै प्रभाव जमाएकाहरु नै छन् । सहकारीकै रकम हिनामिना गरी नेतालाई पैसा बुझाएर सांसद भएकाहरु पनि छन् ।

सहकारी ठग भनेर चिनिएकाहरु ठूला दलका ठूला नेताहरुसंगको उठबसका तस्वीरहरु छ्याप्छ्याप्ती पाइन्छन् । त्यसैले एक्लो रविलाई भएजति प्रयास गर्दा पनि ठग सावित गर्न नसकेपछि अहिले संचार माध्यमहरु पनि मौन छन् । रविको विषयमा बोल्ने–लेख्ने विषय नभएपछि उनीहरु रकम परिचालनमा संलग्न रहेको विषयलाई नै सहकारी ठगीको प्रमाण हो भन्दै स्याल हुँइया गरिरहेका छन् ।

रविको अघि–पछि लागेर समय व्यतित गर्ने नेता तथा संचारहरु लाखौं पीडित जनताको पक्षमा एक शब्द उच्चारण गरेका छैनन् । अझ प्रतिवेदन सार्वजनिक भएपछि र त्यसअघि धनराज गुरुङ, ऋषिकेश पोख्रेलको ठगी प्रकरण बाहिर आएपछि गला नै रोकिएको छ । उनीहरु रविलाई सहकारी ठग प्रमाणित गर्न नसकेपछि अनेक सन्दर्भ जोडेर आफूहरुलाई सत्य सावित गर्ने कुचेष्टा गरिरहेका छन् ।

रविलाई कुन कोणबाट दोषी देखाउने भन्ने ध्याउन्नमा समय खर्चिने संचारमाध्यम र नेताहरु सहकारी पीडित जनतालाई कसरी न्याय दिलाउने, उनीहरुको बचत रकम कसरी फिर्ता दिलाउने, वास्तविक ठगहरुलाई कसरी, कहाँबाट कानुनी कारबाहीका लागि पक्राउ गर्ने भन्नेतिर कुनै चासो दिएका छैनन् ।

अहिले रविको विषयभन्दा लाखौं गुणा महत्वपूर्ण वास्तविक सहकारी ठगहरुलाई कारबाही गरी बचतकर्ताको रकम फिर्ता दिलाउनु हुनुपर्नेमा त्यस्तो केही छैन । राजनीतिक प्रतिस्पर्धी भएकै आधारमा, जनप्रिय रहेकै आधारमा आफ्नो राजनीतिक दुकान चलाइराख्न मात्रै जनताका कुरा बोलेजस्तो गर्नेहरु अहिले नक्कली रुपमै भए पनि जनताका कुरा बोल्नै छाडेका छन् ।

सहकारी पीडितहरुले न्याय पाउने कहिले ? उनीहरु कहिलेसम्म सडकमा धर्ना दिएर बसिरहने । राज्यको दायित्व के हो ? सरकारमा रहेका दलका नेताा तथा सांसदहरुको जिम्मेवारी के हो ? रविलाई सहकारी ठगको आरोप लगाउनु मात्रै सहकारी पीडितको पक्षमा बोलेको ठहरिने हो ? सहकारी ठगबाट पीडित जनतालाई कसले न्याय दिने ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.