स्व. कृष्णप्रसाद भट्टराईलाई ‘नेपाल रत्न’ प्रदान
राष्ट्रपतिद्वारा संविधान दिवसका अवसरमा नौसय तीनजनालाई विभूषण प्रदान
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गर्नुभएको छ । विभूषणमध्ये नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ मरणोपरान्त पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई प्रदान गरिएको छ ।
स्व. भट्टराईले २०४७ सालको संविधान जारी गर्नुको साथै निर्वाचनसमेत गराउनुभएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याउनुभएका भट्टराई नेपाली राजनीतिमा सन्त नेताका रूपमा चिनिनुहुन्छ ।
यसैगरी, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुर्वणशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव मान–पदवी प्रदान गर्ने घोषणा भएको छ ।
त्यस्तै महाउज्ज्वल राष्ट्रदीप सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राजनीतिज्ञ स्व। तुल्सीलाल अमात्य, स्व. मङ्गलादेवी सिंह र मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक आन्दोलनका योद्धा स्व. दुर्गानन्द झा र स्वर सम्राट नारायण गोपाललाई प्रदान गरिने भएको छ ।
त्यसैगरी, सुप्रसिद्ध प्रबल जनसेवा राजनीतिज्ञ प्रदीप नेपाल, स्व। पोस्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य र पीएल सिंहलाई प्रदान गरिने भएको छ ।
नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्को सिफारिसमा उहाँले ती विभूषण प्रदान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नेपाल रत्न एक जनालाई, राष्ट्र गौरव दुई जनालाई, महाउज्ज्ल राष्ट्रदीप प्रथम श्रेणी पाँच जनालाई, सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणी पाँच जनालाई, उज्ज्वल कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी एक जनालाई, प्रसिद्ध प्रवल जनसेवाश्री द्वितीय श्रेणी २४ जनालाई प्रदान गरिएको छ ।
त्यसै गरी सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणी ३९ जनालाई, सुप्रवल जनसेवाश्री तृतीय श्रेणी १६१ जनालाई, कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी आठ जनालाई, प्रवल जनसेवाश्री चतुर्थ श्रेणी ३१९ जनालाई र जनसेवाश्री पञ्चम श्रेणी १९० जनालाई प्रदान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
यसैगरी राष्ट्र यशोवद्र्धक अलङ्कार चार जनालाई, नेपाल सेवा प्रवीण दुई जनालाई, समाजसेवा रत्न २१ जनालाई, नेपाल प्रताप सुभूषण ३४ जनालाई, अतिपौरख भास्कर सात जनालाई, नेपाल प्रताप आभूषण २४ जनालाई, महापौरख भास्कर तीनजनालाई र नेपालप्रताप भूषण १६ जनालाई प्रदान गर्नुभएको छ ।
राष्ट्रपतिले राष्ट्रसेवा पदक प्रथम श्रेणी तीनजनालाई, सुकीर्ति पदक १० जनालाई, सगरमाथा पदक सात जनालाई, वीरता पदक सात जनालाई, विकासरत्न पदक एकजनालाई र प्राकृतिक प्रकोप पीडितोद्धार पदक नौ जनालाई प्रदान गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्