राजनीति

‘चीनको तीव्र विकासबाट नेपालले पाठ सिक्नुपर्ने’

नेपालले मित्रराष्ट्र चीनको तीव्र विकासबाट पाठ सिक्नुपर्नेमा जोड दिइएको छ ।

चीनका राष्ट्रपति सि जिन पिङले नेपाल भ्रमण गर्नुभएको पाँच वर्ष पूरा भएको अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुले हिमालय पारिको असजिलो भूगोलमा पनि चीनले गरेको तीव्र विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सडक र रेलमार्ग विकास गरी चिनियाँ पर्यटक नेपाल भित्र्याउनुपर्नेमा जोड दिनुभयो । नेपाल र चीनबीच व्यापार एवं आवतजावतका लागि खुलेका १४ नाकाबाट तिब्बत क्षेत्रमा आवश्यक उत्पादन पठाउने व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । नेपालले चीन र भारत दुवै देशबाट फाइदा लिनुपर्ने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले चीनले विकास निर्माणका क्षेत्रमा गरेको बहुआयामिकताबाट नेपालले सिकेर अघि बढ्नुपर्ने बताउनुभयो । संस्कार र संस्कृतिबाट टाढा नगई चीनले जस्तै विकास निर्माण नेपालले गर्नसक्छ भनी देखाउने दिन आएको उहाँको भनाइ थियो ।

पूर्व मन्त्री एवं नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नेपाल चीनबीच भएका सम्झौता कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो । नेपालले चीनसँग लिएको ऋण तिर्न नसक्ने भएपछि अनुदानमा बदल्न अनुरोध गर्न ढिलाइ गर्नु नहुने उहाँको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ध्रुवबहादुर प्रधानले चीनको विकासको गति हेरेर नेपाल अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ्छेङले नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । विकास निर्माणमा चीनले गरिरहेको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आयोजक समितिका अध्यक्ष शोभित उप्रेतीले चीन विकास निर्माणमा अघि बढेकाले नेपालले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा डा विक्रम तिमल्सिनाले ‘बिआरआइ’बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि पत्रकार ठाकुर बेल्वासेले टिप्पणी गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.