परियोजना धितो राखेर लगानी गर्ने प्रबन्ध गरिनुपर्छ : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले ग्रामीण अर्थतन्त्रको विकास नगरिकन मुलुक आर्थिक रुपमा सबल बन्न नसक्ने बताउँदै बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले परियोजनालाई धितो राखेर नै लगानी गर्ने प्रबन्ध गरिनुपर्नेमा जोड दिंदै औद्योगिक एवं उत्पादनमूलक क्षेत्र लगानी अभावमा समस्यामा पर्न नहुने बताउनुभयो ।
औद्योगिक क्षेत्रको विकासबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै अर्थमन्त्री शर्माले लगानीको अभावमा ती क्षेत्र धारासयी बन्न नहुने उल्लेख गर्नुभयो ।
हालको नीतिले बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा ऋण दिइए पनि त्यसैबाट घर जग्गामा लगानी हुने अवस्था देखिएको भन्दै उहाँले यस्ता विषयमा सरोकारवालाले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बैंक तथा वित्तीय क्षेत्रको लगानी उत्पादनमूलक क्षेत्रमा हुनुपर्छ । औद्योगिक र उत्पादनमूलक क्षेत्रलाई दुई प्रतिशत कम ब्याजमा ऋण दिनुपर्छ ।”
आयात प्रतिस्थापन गर्नका लागि उत्पादन वृद्धि गर्नुको विकल्प नभएको र त्यसका लागि थप लगानी आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप तथा कर्जा सुरक्षण कोष स्थापना भएको लामो समय भएपनि प्रभावकारी नीति, कार्यक्रम र योजना बनाउन नसकेको भन्दै त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
गभर्नर अधिकारीले कोषले ऐनले दिएको कार्यक्षेत्रभित्र बसेर दीर्घकालीन योजना बनाएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “कोषको काम पैसा सङ्कलन गर्ने मात्रै होइन । अन्य क्षेत्रमा पनि लगानीका लागि काम गर्नुस् । ”
मुलुकको अर्थतन्त्रले आन्तरिक, कृषि उत्पादन र उद्योगमा लगानी वृद्धि खोजेको गभर्नरको भनाइ छ । कार्यक्रममा कोषका अध्यक्षसमेत रहनुभएका राजस्व सचिव रामेश्वर दङ्गालले कोषलाई थप प्रभावकारी बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्