‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री सहभागी
संविधान दिवसका अवसरमा बिहीबार काठमाडौँको दरबारमार्गमा आयोजना गरिएको ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरु सहभागी हुनुभएको छ ।
कन्सर्टमा उहाँले राष्ट्रिय झण्डा हल्लाएर सहभागीहरुसँग संविधान दिवसको खुसी साट्नुभयो । प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्यसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक पनि सहभागी हुनुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान एवं राष्ट्रिय दिवसको सबैमा शुभकामना दिनुभयो । नागरिक र कलाकारबाट कन्सर्ट आयोजना भएकामा प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले दिवसलाई भव्य रुपमा मनाउन सबैमा आग्रह गर्नुभयो ।
उहाँ उपस्थिति हुँदा ‘गाउँगाउँबाट उठ…’ बोलको गीत प्रस्तुत भएको थियो । सहभागीहरुले नृत्यसँगै राष्ट्रिय झण्डा हल्लाएर प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए । कलाकारहरुले गीत प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री ओली कार्यक्रममा पुग्नुभएको थियो ।
त्यसअघि कन्सर्टमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको सहभागितामा अर्केस्ट्रा प्रस्तुत गरिएको थियो भने सातै प्रदेशको प्रतिनिधित्व झल्किने गरी ३२ जना कलाकारले प्रस्तुति दिएका छन् ।
समाजमा योगदान गरेका एक सय ५१ व्यक्तिद्वारा गठित नेसनल डे काउन्सिलको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । कन्सर्ट चार घण्टासम्म चल्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा कुटुम्ब ब्यान्डलगायत कलाकार आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमनलगायतको क्रमशः प्रस्तुति भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्