अर्थकृषि

समयमै आयातको फाइल अघि नबढेपछि चिनीको हाहाकार

सरकारी निकायको गोदाम खाली नहुँदासम्म चिनी आयातको अनुमति नदिएपछि देशभर चिनीको हाहाकार भएको छ । अहिले आयात अनुमति दिए पनि तत्काल ल्याउनसक्ने अवस्था नरहेकाले दशैंतिहारमा चिनीको हाहाकार हुने देखिएको छ ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार र साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाम नरित्तिउञ्जेलसम्म चिनी आयात गर्ने अनुमति नदिएपछि यस्तो अवस्था आएको हो ।

नेपालमा १० वटा चिनी मिलहरुले चिनी उत्पादन गर्छन् । यसबाट एक लाख टन चिनी उत्पादन हुन्छ भने बाँकी चिनी आयात गर्ने गरिएको छ ।

चिनी उद्योगहरुले पाँच महिनाअघि नै उत्पादन सकिएको भन्दै आपूर्ति व्यवस्था सहज बनाउन सरकारलाई सूचित गरेका थिए भने दुई सरकारी कम्पनीले पनि दुई महिनाअघि नै चिनी आयातको अनुमति मागेका थिए ।

तर, सरकारको गोदाम रित्तिएपछि मात्रै आयात अनुमति दिँदा कार्टेलिङ गर्ने होलसेलरलाई आपूर्ति बन्द गरी मूल्य बढाउने बाटो सजिलो भएको छ ।

अभाव हुन थालेपछि २९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनी १०, १० हजार टन चिनी आयातको अनुमति दिने निर्णय गरेको छ । तर, सरकारले दिएको सहुलियतको चिनी तत्काल ल्याउन सम्भव छैन ।

अहिले बजारमा चिनीको अभाव भइसकेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले आफ्नो गोदाममा चिनीको रित्तिएको लामो समय भइसकेको जानकारी दिनुभएको छ ।

सरकारले तीन वर्षदेखि अनुदानमा चिनी ल्याउन नदिएको र पूरा भन्सार तिरेर आयात गरेको चिनी पनि केही सय टन मात्रै बाँकी रहेको उहाँले बताउनुभयो ।

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफूहरुसँग चिनीको मौज्दात नरहेको जनाएको छ । साल्ट ट्रेडिङबाट ल्याएको केही टन चिनीको बिक्री सकिएको कम्पनीले जनाएको छ ।

गत वर्ष पनि दशैंको मुखैमा बजारमा चिनीको हाहाकार भएको थियो । सरकारी स्वामित्वको खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ दुवै कार्यालयको भण्डारणमा चिनी रित्तिएपछि बजारमा चिनीको मूल्य बढाइएको थियो ।

यस वर्ष पनि चिनीको कृत्रिम अभाव सृजना गरी मूल्य बढाइएको छ । बजारमा चिनी छ वा छैन, कति दिनलाई मौज्दात पुग्छ भन्ने विवरण सरकारसँग छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.