नेपालसंगको सम्बन्ध प्रवद्र्धन गर्न पाकिस्तान तत्पर : प्रधानमन्त्री खान
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्न आफू तत्पर रहेको बताउनुभएको छ ।
पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उहाँले पारस्परिक सम्बन्ध प्रवद्र्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामाबादस्थित नेपाली राजदूतावासले जनाएको छ ।
राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच धेरै समानता छन् भन्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको सुख, सुस्वास्थ्यका साथै नेपाल र नेपाली जनताको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
सद्भाव, पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र पाकिस्तानबीचको सम्बन्ध सौहाद्र्रपूर्ण रहेको चर्चा गर्दै राजदूत अधिकारीले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का संस्थापक दुवै राष्ट्रको संयुक्त राष्ट्रसङ्घलगायत अन्य महत्वपूर्ण मञ्चहरूमा समान धारणा रहेको बताउनुभयो ।
उहाँले नेपाल र पाकिस्तानबीच सांस्कृतिक एवं साहसिक पर्यटन प्रवद्र्धनका प्रशस्त सम्भावना रहेका बताउँदै त्यसनिम्ति आफूले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गर्नुभयो । कोभिड महामारीविरुद्धको नेपालको लडाइँमा पाकिस्तानले गरेको नैतिक एवं आर्थिक सहयोगप्रति राजदूत अधिकारीले कृतज्ञता ज्ञापन गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्