बिशेषराजनीति

रास्वपा नेता-कार्यकर्ता पार्टी कार्यालयमा, चीन भ्रमणमा गएकाहरु सोमबार फर्कदै

सरकारले सहकारी ठगी छानबिन संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिए लगत्तै गोर्खा मिडिया नेटवर्कका संचालकमध्येका एक छविलाल जोशी पक्राउ पर्नुभयो ।

जोशी पक्राउ परेलगत्तै सोही कम्पनीमा प्रबन्ध निर्देशक रहेका बखत सहकारीको रकम अपचलनमा दोषी देखाइनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ गर्ने तयारी भयो भन्दै सनसनी मच्चियो ।

रास्वपाले सो सुइँको पाएपछि पार्टी कार्यालय वनस्थलीमा आकस्मिक रुपमा कार्यकर्ताहरुको भेला आयोजना गर्यो । आफ्ना सभापतिलाई षड्यन्त्रपूर्वक पक्राउ गर्न लागिएको उनीहरुले आरोप लगाइरहेका छन् ।

पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागे पनि रास्वपाका केन्द्रीय सदस्य गणेश कार्कीले वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अनौपचारिक छलफल भइरहेको जानकारी दिंदै सभापति लामिछानेलाई पक्राउ गर्ने कुनै औपचारिक जानकारी नआएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीका सभापति, पूर्व गृहमन्त्री भाग्ने कुनै सम्भावना छैन । यस्तो अवस्थामा एउटा जनप्रतिनिधिलाई समातिहाल्छ भन्ने केही छैन । केही जानकारी दिन्छ होला भन्ने छ । त्यो जानकारी अहिलेसम्म आइसकेको छैन ।”

रास्वपा पार्टी कार्यालय परिसरमा सादा पोशाक तथा बर्दी लगाएका प्रहरीहरुको बाक्लो उपस्थिति छ भने चीन भ्रमणमा गएका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किन लाग्नु भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली नेपालमा भएको राजनीतिक गतिविधिलाई ध्यानमा राखेर तत्काल फर्किन लागेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्वीकारेर उपसभापति डा। स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली १० दिनका लागि शनिबार मध्यरातमा चीनका लागि उडेको थियो ।

भ्रमण टोलीलाई नेतृत्व गरेका डा. स्वर्णिम वाग्लेले भन्नुभयो, ‘‘नेपालमा पार्टी सभापतिमाथि षड्यन्त्र हुन सक्ने लक्षण देखिएकाले तत्काल फर्किन लागेका हौँ ।’’

टोलीमा पार्टी उपसभापति स्वर्णिम वाग्ले, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.