दशैंको मुखमा यति धेरै सडक अबरुद्ध
दशैं नजिकिँदै गर्दा हाल देशभरका महत्वूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबेँसी सडक, सिद्धार्थ राजमार्ग, डुम्रे–बेँसीसहर–चामे सडक, कर्णाली राजमार्ग र सुर्खेत तल्लो डुङ्गेश्वर–दुल्लु र पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक अवरुद्ध भएका छन् ।
वर्षाका कारण आएको बाढीपहिरोले गर्दा अवरुद्ध २२ सडक एकातर्फी खुलाएर आंशिकरुपमा सवारीसाधन सञ्चालनमा रहेका छन् । साँफेबगर–मार्तडी–कोल्टी सडक बाजुराको अम्कोट–बल्दे खण्डमा अवरुद्ध रहेको छ ।
अवरुद्ध रहेको स्थानमा लोडर र स्काभेटरको प्रयोग गरेर खुलाउने प्रयास भइरहेको र सँगसँगै वैकल्पिक सडकका लागि स्थानीयवासीसँग छलफल भइरहेको डिभिजन सडक कार्यालय साँफेबगरले जनाएको छ ।
यता बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबँेसी सडक रसुवाको बनुवामा अवरुद्ध रहेको छ । सो सडक खुलाउन प्रयास भइरहेको छ भने वैकल्पिक सडक माध्यम सवारीसाधनका लागि खुलाइएको छ ।
कर्णाली राजमार्गको हर्रे, सेतो भिर, दरबारे, पदुका, रामघाट, किट्टुलगायतका स्थानमा सडक अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्ग पाल्पाको हिउँदे खोलामा अवरुद्ध रहेकामा सडक सुचारु गर्न प्रयास भइरहेको छ ।
जुम्लाको श्रीढुस्कामा सडक अवरुद्ध रहेकामा स्काइभेटरको प्रयोग गरी खुलाउने प्रयास जारी रहेको छ । हाल कोसी राजमार्ग, पृथ्वी राजमार्ग, डुम्रे–बँेसीशहर–चामे, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, सिद्धार्थ राजमार्ग, कर्णाली राजमार्ग, अरनिको राजमार्ग, भेरी करिडोरका विभिन्न स्थानमा एकातर्फबाट मात्रै चालु रहेको छ ।
यस वर्ष नै वर्षाका कारण अवरुद्ध सडकमध्ये हाल एक सय ४५ सडक पूर्णरुपमा सञ्चालनमा आइसकेको विभागले जनाएको छ । विगत केही वर्षयता वर्षाका कारण धेरै सडकमा क्षति पुगिरहेको छ ।
गत वर्ष वर्षामा मात्रै होइन कात्तिकसम्म वर्षा हुँदा धेरै सडकमा क्षति पुगेको थियो । यस वर्ष पनि देशभरका सडकका चाप बढी रहेका सडकखण्डसमेत पटकपटक अवरुद्ध भइरहेका छन् ।
अवरुद्ध सडक तत्काल खुलाउनका लागि जनशक्ति र उपकरण तयारी अवस्थामा राखिएको विभागले जनाएको छ । विभागले डिभिजन सडक कार्यालयलाई वर्षा आउनु पहिलेदेखि नै उपकरणसहित तयारी अवस्थामा राख्ने गरेको जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्