रैथाने धान मासिंदै जान थालेपछि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पति अनुसन्धान विभागले सुदूरपश्चिमका तीन जिल्लामा अनुसन्धान थालेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिकास्थित शान्तिपुर, बैतडीको पाटन र डडेल्धुराको जोगबुढा परगाउँमा स्टेशन बनाएर १२ किसिमका रैथाने धानको अनुसन्धान भइरहेको अनुसन्धान टोलीका सदस्य एवं सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उप–प्राध्यापक गुणानन्द पन्तले बताउनुभयो ।
“सुदूरपश्चिमका राम्रा गुण भएका धान हराउन थालेका छन्, यी धान किन हराउँदैछन् भनेर हामीले अनुसन्धान गरिराखेका छौँ”, उहाँले भन्नुभयो, “हामीले तराईको कञ्चनपुर, भित्री मधेशको जोगबुढा र पहाडी जिल्लाको बैतडीमा स्टेशन राखेर काम गरिराखेका छाँै ।”
सुदूरपश्चिममा लगाइने परम्परागत धानको सुक्खा सहनसक्ने क्षमता र उत्पादनको परिमाण कस्तो छ भनेर अध्ययन अनुसन्धान गरिन लागेको उहाँले बताउनुभयो । “राम्रो गुण भएका परम्परागत धानको खेती गर्न छोडेर आयातित धानको बीउमा निर्भरता बढेको छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमका रैथाने धानको बीउ जोगाउन र प्रोत्साहन गर्नका लागि अनुसन्धान भइरहेको छ ।”
उहाँले अध्ययन गरी निष्कर्ष निकाल्न लगातार तीन वर्ष अनुसन्धान गरिने बताउनुभयो । “हाम्रो परम्परागत धानको खेती गर्न छोडेर बाहिरबाट हाइब्रिड बीउ लिएर लगाउन थाले”, उहाँले भन्नुभयो, “हाम्रो यहाँ पाइने धानको बीउ बाहिर लगेर त्यहाँ कपिराइट लागेर फेरि हामीले किन्नुपर्ने अवस्था आएको छ ।”
सुदूरपश्चिमका तीन जिल्ला बैतडीको पाटन नगरपालिका कागसेली, डडेल्धुराको परशुराम नगरपालिकाको परिगाउँ र कञ्चनपुरको बेलौरीमा १२ वटा जातिमा एक सय ८० प्लटमा लगाइएको धानमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।
“हामी लगातार तीन वर्षसम्म अनुसन्धान गर्छौं, धानको लम्बाइ लिने बाला कस्तो भयो, ढलेको थियो कि कस्तो थियो, रोग लागेको थियो कि थिएन, यो सबै हेर्छौं”, उहाँले भन्नुभयो, “यहाँको प्रयोगशालामा हेर्न मिल्ने यहाँ हेर्छौं, नभए केन्द्रिय प्रयोशाला वा नाष्टमा अनुसन्धान हुन्छ ।”
उहाँले यहाँको रैथाने धानलाई मलखादको आवश्यकता पनि नपर्ने बताउनुभयो । अहिलेको आयातित धानले मलखादबिना उत्पादन दिन नसक्ने भएकाले बाहिरी देशले मलखादमा रोक लगाए यहाँको उत्पादन शून्य हुने बताउनुभयो ।
रैथाने जातको धानको अध्ययन गर्न तीन फरक–फरक भौगोलिक अवस्थितिको छनोट गरिएको छ । डडेल्धुराको जोगबुढामा माइती धान, झिनी, शान्ति र चिउडी जातको धान, कञ्चनपुरको बेलौरीमा भने अञ्जना, घिउपुरी, लालचन्द र सुठीयारी जातको रैथाने धानमाथि अनुसन्धान भइरहेको छ ।
अनुसन्धानमा त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागका प्रमुख प्रा डा रामकैलाशप्रसाद यादव, डा चन्द्र पोखरेल, डा लालबहादुर थापा र सुदूरपश्चिम विश्वविद्यालय कैलाली बहुमुखी क्याम्पसका उपप्राध्यापक गुणानन्द पन्तले रैथाने धानको अनुसन्धान गरिरहनुभएको हो । रैथाने धानको उत्पादकत्व बढाउन कस्तो किसिमले धानखेती गर्न उपयुक्त हुने भनेर अनुसन्धान टोलीले सिफारिस गर्नेछ ।
प्रतिक्रिया राख्नुहोस्