राजनीति

‘…त्यसपछि बन्यो निधिको नाममा मिथिला संस्कृति केन्द्र’

विसं २०५६ मा सन्त नेता कृष्णप्रसाद भट्टराई दोस्रो पटक प्रधानमन्त्री हुनुुभएको समय थियो । नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहनुभएका प्रधानमन्त्री भट्टराईको गान्धीवादी नेता स्व महेन्द्रनारायण निधिको नाममा जनकपुर क्षेत्रमा दीर्घकालीन महत्त्वको केही काम गर्ने चाहना रहेछ ।

मिथिला संस्कृति केन्द्र

उहाँले एकदिन आफ्नो त्यो चाहना स्व निधि पुत्र विमलेन्द्र निधिलाई सुनाउनुभयो । बुबाको नाममा केही ऐतिहासिक महत्त्वको काम गर्ने योजनामै रहेका विमलेन्द्रलाई प्रधानमन्त्री स्वयंले नै त्यसो भनेपछि थप सजिलो हुने नै भयो । तर गर्ने के ? अन्योलमा हुनुहुन्थ्यो निधि ।

हुन त उहाँसँग योजना नभएका होइनन् तर प्राथमिकता निर्धारण गरिसकेको अवस्था थिएन । त्यही बेला तत्कालीन जनकपुरका नगरप्रमुख बजरङ्गप्रसाद साहले नगरमा बहुआयामिक महत्त्वको सभाहल निर्माणका लागि गरेको सङ्घर्ष निधिको सम्झनामा आयो । त्यही विषयमा छलफल सुरु भयो । आफ्ना पिता स्व नेता महेन्द्र नारायण निधिको नाममा प्रधानमन्त्रीले पनि केही महत्त्वको काम गर्ने चाहना राख्नुभएका बारे कुराकानी भयो । सभाहल बनाउने तर त्यसको नाम ‘महेन्द्र नारायण निधि संस्कृति केन्द्र’ बनाउने प्रस्तावमा नगरप्रमुख साहले पनि सहमति जनाउनुभयो ।

नगरप्रमुखसँग भएको मोटामोटी सहमतिको बेहोरा प्रधानमन्त्री भट्टराईलाई सुनाएपछि उहाँले तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री बलबहादुर केसीसँग सल्लाहपछि आर्थिक वर्ष विसं २०५७/५८ देखि आयोजनाकै रुपमा संस्कृति केन्द्रको निर्माण सुरु भएको थियो । सोही आर्थिक वर्षको वैशाख महिनामा महेन्द्र नारायण निधि पत्नी प्रेमसागरी देवी निधिले भवनको शिलान्यास गरेसँगै आयोजनाको निर्माण कार्य सुरु भयो ।

करिब २३ वर्षअघि सुरुभएको आयोजनाको महत्त्वपूर्ण अङ्गका रुपमा रहेको सभाहल उद्घाटन कार्यक्रममा सोमबार तिनै निधि पुत्र विमलेन्द्रले यी कुरा सुनाउनुभएको हो । त्यसक्रममा निधिले भन्नुभयो, “तत्कालीन मेयर (बजरङ्गप्रसाद साह) जनकपुरमा एउटा सिटी हल निर्माण गर्न भौतारिरहनुभएको थियो । उहाँले सहयोगका लागि सरकार र विभिन्न दूतावास धाइरहेको पीडा मैले नजिकबाट नियालिरहेको थिए । प्रधानमन्त्री स्वयंले नै जनकपुरमा अहिंसावादी नेता मेरो पिताजीको नाममा केही गर्ने चाहना व्यक्त गरेको सन्दर्भमा जनकपुरमा सभाहल निर्माण सुरु भएको हो ।”

आफ्नो पिताजीको नाम जोडिए पनि संस्कृति केन्द्रको उद्देश्य मिथिलाको कला संस्कृति, अहिंसा, शान्ति र सामाजिक सद्भाव संरक्षणमा काम गर्ने रहेकाले त्यसको सदुपयोग गर्नुपर्ने निधिको धारणा छ । “यो संस्कृति केन्द्रमा आदरणनीय नेता किसुन जीको सपना, तत्कालीन नगरप्रमुख साहको वेदना र मेरो चाहना जोडएको छ । विभिन्न आरोहअवरोहकाबीच आज करिब २३ वर्षपछि संस्कृति केन्द्र सञ्चालनमा आएको छ । यस कार्यले परिवारको सदस्यका रुपमा म निकै खुसी छु र यसको निर्माणमा योगदान गर्ने सबैप्रति आभार प्रकट गर्दछु”, निधिको भनाइ थियो ।

पूर्व नगरप्रमुख साहले पनि जनकपुरमा सुविधासम्पन्न आधुनिक सभाहल निर्माण गर्ने योजना बनाइरहेका बेला सङ्घीय सरकारले नै स्व नेता निधिको नाममा सभाहल बनाइदिने भनेपछि आफू त्यसमा सहमत भएको बताउनुभयो । “जनकपुरमा धार्मिक कार्यका लागि धेरै मानिस आउने, सभा सम्मेलन हुने तर यहाँ एउटा पनि आधुनिक सभाहल थिएन । त्यसैका लागि मैले पहल गरिरहेको थिए । संयोगवस उहाँले (निधिले) आफूलाई प्रधानमन्त्रीले भनेको कुरा सुनाउनुभयो । त्यसैका आधारमा नगरपालिकाले मेरै पालामा केन्द्र निर्माणका लागि होसियारीपूर्वक पचास कठ्ठा जग्गा दिने निर्णय गरेको हो । यो सभाहल निर्माण भएपछि म निक हर्षित छु ।”

जनकपुरमा हुने ठूला कार्यक्रमलाई सहजता प्रदान गर्न र सभाहलबाहेक मिथिला संस्कृतिको संरक्षणका लागि केन्द्रले आफ्ना गतिविधि सञ्चालन गर्ने पवित्र उद्देश्यसहित निर्माणभएकाले यसको संरक्षण्का लागि सबै तहका सरकारले सहयोग गर्नुपर्ने पूर्व नगरप्रमुख साहको आग्रह छ । त्यसैगरी नेकपा (एमाले) नेत्री एवं प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो महासेठ नेपालको लोकतान्त्रिक आन्दोलनमा महात्त्वपूर्ण योगदान गर्नुभएका स्व नेता निधिको स्मृतिमा बनेको सभाहलले जनकपुरको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गर्नुहुन्छ ।

“ढिलै भए पनि हाम्रा अभिभावक स्व नेता निधिको स्मरणसभाहल बनेको छ । यसले जनकपुर क्षेत्रमा पर्यटन विकासका लागि टेवा पुग्नेछ । अब यसको सदुपयोग गर्न जरुरी छ”, महतोले भन्नुभयो । मुख्यमन्त्री सरोजकुमार यादव पनि केन्द्रको निर्माण प्रादेशिक राजधानीका रुपमा रहेको जनकपुरधाममा आवश्यक सभा सम्मेलन र अन्य गतिविधि सञ्चालन गर्न सहज हुने बताउनुहुन्छ ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले मिथिला र मैथिली संसकृतिको विकास, ठूला सभा सम्मलेन आयोजना गर्न संस्कृति केन्द्रको निर्माणको विशेष महत्व रहेको र यसको संरक्षणका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

सहरी विकास मन्त्रालयको रु १२ करोड २४ लाख ७९ हजार तीन सय ४० (भ्याटबाहेक) लागतमा निर्माण सम्पन्न भएको भवन सवा दुई बिघा क्षेत्रफलमा फैलिएको छ । नवनिर्मित भवनमा पाँच सय ४० जना क्षमताको सभाहल, दुई सय जना अटाउने कन्फरेन्स हल छ भने परिसरभित्र पुस्तकालय भवन, सङ्ग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, क्यान्टिन ब्लकलगायतका संरचना रहेका छन् ।

भवन निर्माण कार्य सम्पन्न भए पनि त्यसको स्वामित्वका विषयमा भने टुङ्गो लागिसकेको छैन । भवन स्थानीय तह वा प्रदेशमध्ये कुन निकायलाई जिम्मा लगाउने भन्नेबारे छलफल भइरहेको र टुङ्गो नलागुञ्जेल सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनुषाको मातहत नै रहने आयोजना कार्यान्वयन एकाइ प्रमुख प्रदीप खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.