राजनीति

सबै समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति समुदायका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणबाट राष्ट्रिय एकता बलियो हुने बताउनुभएको छ ।

अध्यक्ष नेपाल

मुस्लिम समुदायका अगुवाले मदरसा शिक्षालाई प्राथमिकता दिनुपर्ने माग गरिएको ध्यानाकर्षणपत्र बुझेपछि उहाँले मुलुकमा भएका विभिन्न आन्दोलनमा सो समुदायको उल्लेख सहभागिता रहेको भए पनि उनीहरुको शिक्षा, स्वास्थ्य, आर्थिक रुपान्तरण तथा सामाजिक सुरक्षा हुन नसकेको बताउनुभयो ।

वर्गीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता, देश विकासको भावना बोकेर कम्युनिष्ट पार्टीको स्थापना भएको उहाँको भनाइ थियो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सबै समुदायको आपसी सहयोग तथा एकताबाट भौगोलिक अखण्डता, मुलुकको स्वाभिमान रक्षा हुने बताउनुभयो । आफ्नो पार्टीले वर्गीय विभेद, अन्यायविरुद्ध सङ्घर्ष गर्ने आदर्श अवलम्बन गरेको उहाँको भनाइ थियो ।

उहाँले सो समुदायको उचित र जायज मागलाई सरकार र सम्बन्धित मन्त्रालयसमक्ष पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष नेपाललाई भेटगरी शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० मा मदरसा शिक्षाका भावना र मर्म अपूर्ण रहेकाले त्यसलाई परिमार्जन गर्न आग्रह गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा मदरसा शिक्षालाई औपचारिक शिक्षाका रुपमा मान्यता दिन, धार्मिक तथा सांस्कृतिक महत्व र भावनालाई समेट्न विधेयकमा आवश्यक संशोधनका लागि सरकारसँग पहल गरिदिन अनुरोध गरिएको छ ।

ज्ञापनपत्र बुझाउन सांसद खालिद सिद्दिकी, कल्पना मियाँसहित मौलाना अजिजुल रहमान, नेपाल हज समितिका पूर्वअध्यक्ष तथा मुस्लिम इत्तेहाद सङ्गठनका अध्यक्ष ताज मोहम्मद मियाँलगायत विभिन्न मुस्लिम सङ्गठन र सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.