राजनीति

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र वन वर्नहार्ट वर्ल्डवाइडबीच सम्झौता

जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकाको वन वर्नहार्ट वर्ल्डवाइडबीच मातृ–शिशु स्वास्थ्यमा सहकार्य गर्ने विषयमा सहमति भएको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो सम्झौता भएको हो ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट बोस्टन आइपुग्नुभएका प्रधानमन्त्री ओलीले हावर्ड विश्वविद्यालयमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गरेपश्चात् उक्त सम्झौता भएको हो ।

सम्झौताअनुसार मातृ–शिशु स्वास्थ्यमा प्रतिष्ठानमार्फत योगदान गर्न ग्रामीण स्वास्थ्य फेलोसिपलगायतका कार्यक्रममा सहकार्य गर्ने उल्लेख छ ।

यस्तै धनयोगा फाउण्डेशन र प्रतिष्ठानबीच पनि सम्झौता भएको छ । सम्झौताअनुसार प्रतिष्ठानले डाइबिटिज केन्द्र स्थापना गर्ने सहमति भएको छ । सम्झौतामा वर्नहार्टका तर्फबाट डा क्रिस्टिना भे सेन्गर र प्रतिष्ठानकातर्फबाट डा मङ्गल रावलबीच हस्ताक्षर भएको हो ।

हावर्ड विश्वविद्यालयमा नेपालको कार्यकारी प्रमुखको पहिलो पटक भ्रमण र सम्बोधन भएको हाे । सम्बोधनपछि नेपाली समुदायका चिकित्सकसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका साथै निरोगी नेपाल अभियानलाई सघाउन आग्रह गर्नुभयो ।

उहाँले प्रतिभा पलायनको अवस्था अन्त्य गर्न सरकार तत्पर रहेको र चिकित्सकलाई सकेसम्म नेपाल फर्कन र नसके पनि विदेशमै रहेर स्वदेशमा सेवा दिन आग्रह गर्नुभयो ।

उहाँले आधुनिक चिकित्सा पद्धतिको विकास हुनुपूर्व नेपालको परमपरागत चिकित्सा पद्धति प्रभावशाली रहेको तथ्य औँल्याउँदै नयाँ नयाँ अनुसन्धान र उपचार पद्धतिलाई नेपालमा भित्र्याउन सहयोग गर्न आग्रह गर्नुभयो ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय विकास प्रमुख प्रा डा माइकल फ्युटले नेपालको प्रधानमन्त्री विश्वविद्यालयमा पहिलो पटक आइपुग्दा आफूहरुमा पनि उत्साह पैदा भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.