अर्थ

लगातारको वर्षापछि आएको पहिरोले तामाकोशी आयोजनाका हेडवर्क्समा क्षति

अविरल वर्षासँगे आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा क्षति भएको छ ।

माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको आयोजना कार्यालयले जनाएको छ । बाँधका सम्पूर्ण ढोकाहरु खुल्ला गरिएका छन् ।

बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पु¥याउने नहर (कल्भर्ट)मा क्षति पुगेको आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिनुभयो ।

नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोले ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । गौतमले विद्युत्गृह रहेको स्थान गोँगरबाट बाँधसम्मको प्रवेश मार्गमा पर्ने खोलामा बाढी आएकाले कोहीपनि त्यहाँसम्म पुग्न नसकेकोे बताउनुभयो ।

कार्यकारी अधिकृत गौतमले पहिरोको प्रकृति हेर्दा नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्टलगायत भौतिक संरचनामा क्षति पु¥याएको अनुमान गरिएको उल्लेख गर्नुभयो । पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुङ्गा, लेदो थुप्रिएको छ । नियन्त्रण कक्षमा रहेका दुई जना कर्मचारीलाई उद्धार गर्न लागिएको भन्दै हालसम्म कुनै मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय दोलखासँगको समन्वयमा उद्धारमा लामाबगरस्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युमेक हो । अहिले तामाकोशी नदीको बहाव बाँधस्थलमा चार सय ६१ क्युमेक छ ।

नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौता बामोजिम नदीमा पानीको बहाव दुई सय ५० क्युमेक हुनासाथ विद्युत्गृह बन्द गर्नुपर्ने कार्यकारी अधिकृत गौतमले बताउनुभयो ।

शुक्रबार दिउँसो ४ बजेदेखि पानीको बहाव दुई सय ५० क्युमेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेदेखि विद्युत् उत्पादन पूर्ण रुपमा बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.