जन सरोकार

भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी

अविरल परेको वर्षाका कारण भक्तपुर जिल्लाका १५ वटा टोलबस्ती डुबानमा परेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षा र हनुमन्ते खोलमा आएको बाढीका कारण यहाँका बस्तीहरू डुबानमा पर्दा करोडौंको क्षति भएको छ ।

डुबानमा

मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाले हालेको बनाएको ढलमा नगरपालिकाले सिन्टिटार, बोडे, निकासेरन, बाहखाबजारलगायतको ढल मिसाई दिएपछि ढल फुटेर बस्तीमा पसेको थियो ।

शनिबार बिहान ७ बजेपछि हनुमन्ते खोलाको बहाव करिडोर पार गरेर बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका राधेराधे क्षेत्रको वडा नं ५ सङ्गम कोलोनी, वडा नं ९ को राधेराधे क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ । यहाँका करिब ५०० घरभित्र पानी पसेर सयौँ परिवार विस्थापित भएका छन्भने भुइँतलाका सम्पूर्ण सामान डुबेर क्षति भएको छ ।

सयौँ पसलभित्र सात फिटसम्म पानी पर्दा करोडौँको सामानहरू क्षति पुगेको छ । राधेराधेबाट भाटभटेनी क्षेत्र राधेराधे निकोसेरा सडक क्षेत्रमा पाँच फिट उचाइसम्म पानी पुगेपछि यातायात अवरुद्ध भएका छन्भने व्यापारिक निकाय ठप्प भएका छन् ।

बिहान ८ बजे आएको सशस्त्र प्रहरीको टोलीले राधेराधे क्षेत्रमा उद्धार कार्य जारी राखेको छ । यस क्षेत्रमा रहेका करिब १०० घरपरिवार सुरक्षित स्थानमा सरेका छन्भने कतिपय आफन्तकामा र कतिपय होटलमा गएको स्थानीय प्रदीप कार्कीले जानकारी दिनुभयो । यहाँको अवस्था भयाभव भएको छ ।

मध्यपुरथिमिकै मनोहरा खोला र हनुमन्ते खोलामा आएको बाढीका कारण मनोहरा बस्ती पूर्ण रूपमा डुबानमा परेको छ । जडीबुटीस्थित सुकुम्वासी बस्ती पूर्ण रूपमा डुबानमा परेको छभने जडीबुटी आँखा अस्पताल क्षेत्रको बस्ती डुबानमा परेको छ ।

त्यस्तै, भक्तपुरको हनुमन्ते खोलाले ग्यासको बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्यास लिक भएर चुहिँदै बुलेट बगेको पछि स्थानीयहरू त्रसित भएका छन् । वर्षाका कारण भनपा–६ भीमसेनस्थानमा रहेको सिद्धिस्मृति अस्पतालमा पानी पस्दा सबै सेवा नै बन्द भएको छ ।

भक्तपुरको सिद्धिस्मृति अस्पताल डुबानमा परेपछि बिरामीलाई उद्वार गरी अन्यत्र अस्पताल पठाउन नेपाली सेनासहितको सुरक्षा टोली बोटसहित परिचालन गरिएको छ । इवामुरा अस्पतालमा पनि पानी पसेर आकस्मिकलगायत सेवाहरू प्रभावित भएका छन् ।

भक्तपुरको सूर्यविनायक राममन्दिर, टुरिजम मार्केट, हनुमानघाट, लिवालीका भित्री क्षेत्र, बाराहीस्थान, जगाती क्षेत्र रुपमा डुबानमा परेका छन् । त्यहाँका विद्यालय, व्यापारिक केन्द्र र बस्तीहरू डुबानमा पर्दा लाखौँको क्षति भएको छ ।

त्यस्तै, सूर्यविनायक क्षेत्रको सूर्यविनायक–२ स्थित गोदावरी खोला किनारका बस्ती र घरमा पानी पस्दा भक्तपुरको बालकोट र ललितपुर महालक्ष्मी नगरपालिकाको सिमानाका क्षेत्रहरू पूर्ण रुपमा डुबानमा परेका छन् ।

त्यस क्षेत्रका पशुपक्षी बगाएको छ । सूर्यविनायक –१० को भङ्गालमा गणेश दुलाल र भरत दुलालको घर पहिरोले पुरिएर चौपायासमेत पुरिएपछि मानवीय क्षति रोक्न प्रहरीको उद्धार टोली पुगेको छ । भक्तपुरको पलांसे नजिकै पहिरो गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ ।

सूर्यविनायक नगरपालिका–५ गडेधारा टोलमा स्थानीय घट्टेखोला पस्दा ४० घर डुबानमा परेको छन् । एक महिनाअगाडि परेको वर्षाका कारण पनि डुबानमा परेर लाखौँको क्षति भएको यस क्षेत्रमा राति १ बजेदेखि डुबानमा परेर स्थानीयले घर छाडेर आफन्तको पुगेका छन् । यस क्षेत्रमा लाखौँको क्षति भएको स्थानीयवासी एवं गैरसरकारी संस्था महासङ्घ भक्तपुरकी अध्यक्ष अनिता पाण्डेले जानकारी दिनुभयो ।

मोर्डन चोकमा घट्टेखोलाको पानी पसेर अधिकारी टोलमा र हिनचोक टोलमा लगभग ३० घर डुबानमा परेको छ । दधिकोट तर्खगालस्थित नाङ्ग्गे पाखाबाट पहिरो आउँदा थिमि, गाम्चा र तर्खगालको सडक अवरुद्ध भएको छ । हनुमन्ते खोलाको बाढी पसेर  मथिनपा–३ चारदोबाटोमा रहेको अन्नपूर्ण तरकारी बजार र मथिनपा–३ कौशलटारमा रहेको सागबारी टोल डुबानमा परेको छ ।

सुनपा–२ कौशलटारबाट बालकोट जाने बाटोमा फर्निचर कारखानामा नौजना मानिस फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं २२ गण दुवाकोटको टोलीले उद्धार गरेको छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली जिल्लभरि खटिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै, बालकोट नयाँ बस्ती, हनुमन्ते खोला आसपासका बस्ती पूर्ण रूपमा डुबानमा परेका छन्भने कतिपय भुइँतलाका मानिसहरु उद्धारको पर्खाइमा छन् । वर्षाका कारण चाँगुनारायण नगरपालिका–६ नगरकोट बाख्री गाउँमा तेलकोटदेखि बाख्री गाउँ हुँदै नगरकोट जाने बाटोमा पहिरो जाँदा हरिगुरु मार्ग पूर्ण रूपले अवरुद्ध तथा भक्तपुर नगरकोट सडक समेत पहिरोले अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले धेरै ठाउँ डुबानमा परेको र पहिरो गएको जानकारी आइरहेकाले सुरक्षाका सबै निकाय परिचालन गरी उद्धारमा खटिएको जानकारी दिँदै क्षतिको विवरण पनि सङ्कलन कार्य जारी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.