कर्पोरेट/पर्यटन

शैलुङको पर्यटन प्रवर्द्धनार्थ ‘स्पार्क एड्भेन्चर’ आयोजना

चर्चित पर्यटकीय क्षेत्र शैलुङ्को पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ आयोजना गरिएको छ । दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङको पर्यटन प्रवर्द्धन गर्न दुई सयभन्दा बढी सहभागीले शैलुङको यात्रा सुरु गरेका हुन् ।

स्पार्क एड्भेन्चर

धुलिखेलमा आयोजित एक कार्यक्रममा पञ्चेबाजासहित उक्त एड्भेञ्चरको उद्घाटन गरिएको छ । सय थुम्काहरूको सङ्गम शैलुङ धार्मिक पर्टकीय क्षेत्रसमेत हो । यस्तै शैलुङ सबैभन्दा फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेशन’ पनि हो । प्रकृति र पर्यावरणको उत्तम सङ्गम रहेको शैलुङ पर्यटकीय हिसाबले निकै महत्त्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

“यसपटक शैलुङको पर्यटन प्रवर्द्धन गर्नेछौँ, यहाँको प्रकृति र विशेषतालाई उजागर गर्न हामीले शैलुङलाई यसपटक छानेका हौँ”, स्पार्क ग्रुपका महाप्रबन्धक पदम पराजुलीले भन्नुभयो । उहाँले प्रचुर पर्यटकीय सम्भावना रहेर पनि चल्तीको गन्तव्य नभएकाले उक्त स्थानको प्रचार–प्रसारका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

टोलीलाई रामेछापको दोरम्बामा जिल्लाका प्रशासनिक एवं लब्धप्रतिष्ठित व्यक्तिहरूको साथमा स्थानीयवासीले स्वागत गर्ने र त्यहाँको स्थानीय परिकारको स्वाद लिई शैलुङतर्फ प्रस्थान गर्ने जनाइएको छ । शैलुङ पुगेपछि स्थानीय संस्कृतिअनुसार स्वागत गरिने कार्यसूची छ । चौँरी गोठ र त्यहाँको गोठाले जनजीवनसमेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ‘वाइल्ड स्टे विथ चौँरी’ राखिएको छ ।

कार्यक्रममा क्याप्टेन विजय लामा, कलाकार निखिल उप्रेती, गायक यशकुमार, कमेडियन सन्दीप क्षेत्रीलगायतका कलाकार सहभागी हुनुहुन्छ । कार्यक्रम संयोजक अमरदीप भट्टराईका अनुसार तीनदिने कार्यक्रममा लोकगायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धिसागर, डा रञ्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बाँस्तोलालगायतको सहभागिता छ ।

उक्त कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारीसमेत सहभागी छन् । एड्भेञ्चरमा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) श्याम ज्ञवाली, आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त वादेसँगै चिकित्सक, विभिन्न दूतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधिलगायत फरक–फरक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ ।

यस किसिमको सहभागितामूलक पर्यटन प्रवर्द्धन कार्यक्रम नेपालमै पहिलोपटक भएको आयोजकको दाबी छ । शैलुङतर्फको यात्रामा सहभागीहरू निकै उत्साहित रहेका छन् । “साढे तीन दशकदेखि शैलुङमाथिको आकाशमा उड्दै ‘वाउ’ मात्रै भन्दै आएको थिएँ, अहिले प्रत्यक्षरूपमा स्थलगत जानका लागि एकदम एक्साइटेड छु”, क्याप्टेन लामाले भन्नुभयो । कलाकार निखिल उप्रेतीले आफू भगवान् बुद्धले टेकेको भूमिमा जान निकै नै उत्साहित भएको बताउनुभयो ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकका लागि यातायातको व्यवस्थापन गर्ने कार्य गर्दै आइरहेको छ । गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार अवलोकन गरेर सुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण शैलुङ र त्यहाँको चौँरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.