राजनीति

अब ‘बादशाहको बाँसुरी’ बजाउन बन्द गराैं

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार तथा राजनीतिक दलका नेताहरुलाई मुलुकको गम्भीर आर्थिकक अवस्थाप्रति सचेत भएर अघि बढ्न सुझाव दिंदै अब राजनीतिको मात्र बाँसुरी बजाएर देश नचल्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले रोम जल्दै थियो, ‘बादशाह बाँसुरी बजाउँदै’ थिए भन्ने सन्दर्भ राख्दै मुलुकको आर्थिक अवस्था जर्जर रहे पनि सरकार र नेताहरु राजनीतिमा मात्रै केन्द्रित हुनु दुःखद भएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, देश गम्भीर आर्थिक संकट र मन्दीबाट गुज्रदै छ । बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारीमा गएका नागरिकले पठाएको रेमिट्यान्स बाहेक अर्थतन्त्रका कुनै सूचक सकारात्मक छैनन्। बरू गम्भीर ढंगले नकारात्मक र विपरित दिशातर्फ उन्मुख छन् ।

उहाँले मुलुकको वर्तमान आर्थिक समस्या तत्कालिक र सामान्य प्रकृतिका नभएर दीर्घकालिक र संरचनात्मक प्रकृतिका रहेकाले यसको उचित समाधानका लागि गम्भीर विमर्श हुनुपर्ने बताउनुभएको छ ।

उहाँ लेख्नुहुन्छ, “गत साठी वर्ष यता वार्षिक आर्थिक वृद्धिदरले कहिल्यै दुई अंक छोएको छैन । वर्तमान नेपाल राज्य बनेयता अर्थात् सुगौली सन्धियता वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ ।वैदेशिक ऋण बढेको बढ्यै छ । महॅगी निरन्तर उकालो छ । भ्रष्टाचार चुलिएको चुलियै छ ।”

“त्यस्तै औद्योगिक उत्पादनले दुई अंक नाघ्न सधैं कनिकुथी गरिरहेकै छ । जनशक्ति पलायन त निरन्तर भैरहेकै थियो, केही समय यता पुॅजी समेत पलायन भैरहेको बताइन्छ । दशैंको मुखमा प्रायः चलायमान हुने बजार यसपटक सुनसान हुने छनक देखिदैछ।”

भावी आर्थिक अवस्थाको चित्र यस्तो रहे पनि देशमा गम्भीर आर्थिक विमर्श र राज्यको तर्फबाट गम्भीर नीतिगत र व्यवहारिक पहल र हस्तक्षेप नहुनु जनतालाई आज मरे भोलि ओखती हुने उहाँले बताउनुभएको छ ।

डा. भट्टराईले अन्त्यमा सबैले राजनीतिदेखि राजनीतिसम्मको बाँसुरी बजाउनु सट्टा अर्थतन्त्र र अर्थनीतिबारे नि चासो लिन सुझाव दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.