राजनीति

माओवादी अध्यक्ष प्रचण्डद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने युवा चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ । आइतबार तामाङलाई आफ्नै निवास खुमलटारमा बोलाएर उहाँले सम्मान गर्नुभएको हो ।

माओवादी अध्यक्ष प्रचण्डद्वारा दुई जनाको उद्धार गर्ने तामाङलाई सम्मान

तामाङले शनिवार ललितपुर महानगरपालिका-२५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी छ वर्षीया मेघनालाई उद्धार गर्नुभएको थियो ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएको अवस्थामा तामाङले उर्लदो भेलमा हाम फालेर उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुवै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

अध्यक्ष दाहालले साहसी काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा तमाङलाई बधाई तथा धन्यवाद दिनुभयो । सङ्कटको बेला नै बहादुरको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रूपमा सम्मान गरिएको बताउनुभयो ।

“यस घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको छु । तपाईको हाल देशविदेशमा चर्चा भइरहेको छ”, अध्यक्ष दाहालले भन्नुभयो,“ तपाई आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुसी लागेको छ ।”

काभ्रेको तेमाल गाउँपालिका–९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । त्यस अवसरमा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकामा खुसी लागेको बताउनुभयो ।

आफू बिहान खोला हेर्न आएको बेला मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको उहाँले बताउनुभएको थियो । तामाङले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको सुनाउनुभयो ।

यसैबीच माओवादी केन्द्र एसिया सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख बराबरको सहयोग गरेको छ । समितिका इञ्चार्ज पम्फा भुसाल, सहइञ्चार्ज ओम शर्मा र नेता टिबी पाठकले रु पाँच लाख बराबरको चेक अध्यक्ष दाहाललाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.