अस्थायी आवासका लागि तत्काल रकम उपलब्ध गराइने
सरकारले असोज ११ र १२गतेको अविरल वर्षापछि आएको बाढीपहिरो प्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषद् बैठकले बाढी पहिरो प्रभावितलाई अस्थायी आवास बनाउन रकम दिने निर्णय गरे अनसार पहिलो किस्ता तत्काल उपलब्ध गराउन लागिएको हो ।
गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषदको निर्णय अनुसार पहिचान भएका प्रभावितलाई तीन दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन निर्देश गरिएको जानकारी दिनुभयो ।
मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले स्थानीय तहले लाभग्राही पहिचान गरेर पठाएको ३ दिनभित्र पहिलो किस्ता उपलब्ध गराउन भनिएको जानकारी दिनुभयो ।
प्रभावितले जिल्ला विपद् व्यवस्थापन समितिबाट अस्थायी आवास अनुदान रकम पाउनेछन् । अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड अनुसार पहिलो किस्तामा २५ हजार रुपैयाँ दिइनेछ ।
अहिले अस्थायी आवासका लागि रकम पाएकाले पछि स्थायी आवासका लागि समेत सहयोग पाउने र यसबारे पछि निर्णय गरिने बताए ।
यही असोज १२ गतेको बाढीपहिरोले काठमाडौं उपत्यकासहित बागमती, कोशी र मधेशमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्