साहित्य

कथाकार चालिसेको वैदिककालीन पात्रमा आधारित उपन्यास ‘युगसन्धि’ सार्वजनिक

वैदिककालीन पात्रहरुलाई आधार बनाएर साहित्य सिर्जनाको अभाव चिर्दै कथाकार विजय चालिसेद्वारा लिखित ऋषि वशिष्ठ र विश्वमित्रको वैचारिक द्वन्द्वमा आधारित उपन्यास ‘युगसन्धि’ सार्वजनिक गरिएको छ ।

उपन्यासमा आर्य र अनार्य जाति तथा संस्कृति, महिला तथा पुरुष एवम् रक्त शुद्धता र रक्त सम्मिलन पक्षधरहरूबीचको द्वन्द्व समेटिएको छ । यी प्रसङ्गहरूमा विश्वमित्र ऋषि र वशिष्ठ ऋषिबीचको द्वन्द्वमा कथा अगाडि बढेको छ ।

उपन्यासमा ब्रम्ह शक्ति र राज शक्तिको समन्वय, महिला र पुरुषबीच समानता साथै आर्य र अनार्यबीचको समन्वयबाट मात्रै हिमाली क्षेत्रमा शान्ति कायम हुनसक्छ भनी वैदिक कालदेखि विमर्श हुँदै आएको तर्क अघि सारिएको छ ।

मंगलबार राजधानीको होटल यलो प्यागोडामा आयोजित पुस्तक लोकार्पण समारेहमा बोल्दै समिक्षक गोपी मैनालीले युगसन्धिले प्राचीन समयको जातिय र वर्गीय विभेदलाई देखाएको टिप्पणी गर्नुभयो ।

उहाँले युगसन्धिले पौराणिक आख्यान लेखनको शास्त्रिय विधान तोडेको उल्लेख गर्दै उपन्यास विजयको मात्र नभइ पराजयको पनि कथा भएको बताउनुभयो ।

अर्का समीक्षक डा ज्ञानु पाण्डेले युगसन्धि उपन्यास यसले उठान गरेको विषयवस्तुभन्दा पनि पर पुगेर पाठकका मनमा अनेकौँ गम्भिर प्रश्न र कल्पना जगाउनसक्ने सशक्त कृति भएको दावी गर्दै वैदिक कालको कथालाई लैंगिक अवधारणाबाट समेत उपन्यासले हेर्न सकेको बताउनुभयो ।

वेदमाथि नेपालबाट पहिलो विद्यावारिधि गर्नुभएका डा ऋषिराम पोखरेलले वैदिक विषयवस्तुमाथि साह्रै कम पुस्तक लेखिएको समयमा विजय चालिसेले युगसन्धि लेखेर नेपाली साहित्यलाई गुन लगाउनुभएको बताउनुभयो ।

लेखक चालिसेले वैदिककालका द्वन्द्वहरुलाई अध्ययन गरेर निकालेको निश्कर्षका आधारमा उपन्यास तयार पारेको बताउनुभयो ।

लोकार्पण समारोहमा समिक्षक युवराज मैनाली र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसाल लगायतले लेखकलाई शुभकामना दिनुभएको थियो ।

पुस्तक विमोचन समारोहमा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति के के कर्माचार्य लगायत विभिन्न बिशिस्ट साहित्यकारहरुको बाक्लो उपस्थिति थियो ।

परिचय पब्लिकेसनद्वारा प्रकाशित उपन्यास युगसन्धिको मूल्य पाँच सय ५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.