क्यानडामा जारी त्रिकोणात्मक टी–ट्वान्टी शृङ्खलाअन्तर्गत क्यानडाविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । बुधबार बिहान सम्पन्न खेलमा नेपाल घरेलु टोलीसंग ४ विकेटले पराजित भएको हो ।
क्यानडाको किङ सिटीमा भएको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि ओपनर अनिल साहले ३० बलमा तीन छक्का र चार चौकासहित ४१ रन र अर्का ओपनर आशिफ शेखले ३० बलमा एक छक्का र तीन चौकाको सहयोगमा ३० रन बनाए ।
साथै गुलशन झाले २३ र कुशल भुर्तेलले १३ र दीपेन्द्र सिंह ऐरीले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । क्यानडाका लागि हर्ष ठाकरले दुई विकेट लिए । साथै दिलोन हेलिङगर, अखिल कुमार, प्रवीण कुमार र साद विन जफरले समान एक/एक विकेट लिए । नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे भने निकोलस किर्तोनले २६ रन जोडे । त्यस्तै दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवनित धालिवालले १२ रनको योगदान दिँदा रविन्द्रपाल सिंह २० रनमा अविजित रहे ।
नेपालका लागि सन्दिप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए भने सोमपाल कामीको भागमा १ विकेट रह्यो । शृङ्खलाअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल आज ओमानविरुद्ध खेल्नेछ।
प्रतिक्रिया राख्नुहोस्