संस्कृति

बालबालिकालाई दशैंको मौलिकता सिकाउँदै नीलगिरि विद्यालय

नेपालीहरुको राष्ट्रिय पर्व बडा दशैंको घटस्थापनाको दिनदेखि नौ दिनसम्म गरिने नवदुर्गाको पूजा आराधना, विजया दशमीका दिन गरिने देवी विसर्जन र त्यसको प्रसादस्वरुप लगाइने दही अक्षताको रातो टीका र जमराको विशेष महत्व छ ।

तर, दशैंको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वका बारेमा अहिले उतिसारो चर्चा हुने गरेको छैन । दशैंलाई केवल खाने, पिउने एउटा चाडमा सीमित गर्ने गरिएको छ ।

दही अक्षताको टीकाले मस्तिष्क शितल पार्छ भने जमराले विभिन्न किसिमका रोगहरुसंग लड्ने शक्ति प्रदान गर्दछ । दशैंको विशेष पक्ष औपचारिकतामा सीमित हुन गैरहेका बेला भावी पुस्तालाई यसबारे जानकारी दिन विद्यालयस्तरबाटै पहल थालिएको छ ।

शरद ऋतुको आरम्भपछि पितृपक्षको समापनसंग सुरु हुने मातृपक्षको आराधना अर्थात् दशैंको शास्त्रीय महत्व भुलेर तडकभडकमा बढी जोड दिन थालिएका बेला काठमाडौंको पकनाजोलमा अवस्थित नीलगिरि विद्यालयले विद्यार्थीहरुमाझ दशैंको मौलिकता र महत्व उजागर गर्न सुरु गरेको छ ।

गत वर्षबाट साना बालबालिकालाई दशैंको शास्त्रीय र यसको धार्मिक, सामाजिक महत्व दर्शाउँदै टीका र जमरा दिएर विद्यालयबाट विदा गरिएको छ ।

यसै क्रममा यस वर्षको दशैं आरम्भ हुनु एकदिन अघि सो विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा साना विद्यार्थीहरुलाई टीका, जमरा, दक्षिणसंगै उपहार दिएर दशैंविदा सुरुवात गरिएको छ ।

नौ दिन अघि बालबालिकालाई जमरा राख्ने अभ्यास गराएको विद्यालयले तिनै बालबालिकाले राखेको जमरा विद्यालयमा औपचारिक कार्यक्रमको आयोजना गरी दशैंको विविध पक्षहरुबारे विद्यार्थीलाई जानकारी पनि दिइएको थियो ।

मौलिक संस्कृति मासिएर आयातित संस्कृतिको अतिक्रमण बढिरहेका कारण आफ्नोपन जोगाउन आजका बालबालिकालाई अहिलेदेखि नै यसबारे सचेत पार्ने दायित्व विद्यालयको भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयका शैक्षिक संयोजक गीता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.