गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
गोरखा दरबारको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ ।
नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दशैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९ः१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह (पूजाकोठा) मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उहाँले बताउनुभयो । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ ।
“गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चार/चार मानाको दरले जौ को जमरा राखिएको छ”, उहाँले भन्नुभयो, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एक/एक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।”
बडादशैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।
प्रतिक्रिया राख्नुहोस्