संस्कृति

हनुमानढोकास्थित दशैँ घरमा जमरा राखियो

दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दशैँ घरमा विधिपूर्वक बिहान ९ः१६ बजेको साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ ।

हनुमानढोका दरबारमा रहेको दशैँ घरमा राज्यका तर्फबाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ ।

हनुमानढोकाको दशैँ घरमा आजैदेखि बलिसहित पूजा सुरु गरिन्छ । हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ ।

यस वर्ष तिथिको घटबढका कारण असोज २४ गते फूलपाती भित्र्याएपछि अष्टमीमा गरिने पूजा आराधना र बलिको तयारी भएको जानकारी पनि कार्यालय प्रमुख खनालले दिनुभयो ।

वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दशैँ घरमा दुर्गा पक्षको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ ।

दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चाैँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

नव दुर्गासहित दशैँ घरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ ।

यसै गरी राजधानीलगायत देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पनि भक्तजनको पूजा, आराधना एवं दर्शनका लागि भीड लाग्ने गर्छ । शक्तिपीठ एवं देवी मन्दिरमा बलिसहित पूजा, आराधना गर्न पनि भक्तजन पुग्ने गर्छन् ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिन्छ । घटस्थापनादेखि महानवमीका दिनसम्म विधिपूर्वक दुर्गा देवीको पूजा, आराधना गरिन्छ । नौ दिनसम्म पूजा, आराधना गरिएकी देवीलाई विजयादशमीका दिन बिहान देवी विसर्जन गरी मान्यजनका हातबाट प्रसादस्वरुप टीका र समृद्धिको प्रतीको जमरा लगाउने गरिन्छ ।

मान्यजनबाट टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा, आराधना गरी जाग्राम बसेपछि १५ दिन लामो बडा दशैँ पर्व समाप्त हुन्छ ।

यो १५ दिनको पक्षलाई दुर्गा पक्ष पनि भनिन्छ । नौ दिनसम्म विधिपूर्वक देवीको आराधना गर्ने बाँकी छ दिन देवीकोप्रसाद ग्रहण गरिने भएकाले यो १५ दिनको समयलाई दुर्गा पक्ष भनिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.