विश्व समाचार

सरकारी सेवामा रहेका महिला कर्मचारीको लिपिष्टिक बहस

आम महिलाले प्रयोग गर्ने सामान्य सौन्दर्य साधन लिपिष्टिक प्रयोगमा कुनै छेकबार छैन । तर, दक्षिण भारतको चेन्नई शहरमा एक महिला सरकारी कर्मचारीले लिपस्टिक लगाउने गरेका कारण आफूलाई अन्यत्र सरुवा गरिएको दाबी गरेपछि यो ठूलो बहसको विषय बनेको हो ।

माधवी नामक ती महिला त्यहाँको स्थानीय सरकारको एक निकाय चेन्नई नगर निगममा विगत १५ वर्षदेखि कार्यरत थिइन्। तर, उनले लिपिष्टिक लगाएका कारण अन्यत्र सरुवा गरिएको दावी गरेपछि बबहस सुरु भएको हो ।

उक्त घटनाले लैङ्गिक अधिकार पैरवीकर्ताहरूलाई आक्रोशित तुल्याएको देखिएको छ। माधवीका अनुसार गत मार्चमा नगरप्रमुखको कार्यालयद्वारा आयोजित महिला दिवसको कार्यक्रममा आफू सहभागी भएपछि यो विवाद सुरु भएको थियो।

बिबिसी नेपाली सेवाका अनुसार चेन्नईमा प्रिया राजन प्रथम महिला दलित नगरप्रमुख बनेको केही समयपछि तीन वर्षअघि माधवी प्रथम महिला मार्शल बनेकी थिइन्।

भारतमा दलित भनिने समुदायले परम्परागत रूपमा नै सामाजिक बहिष्करणको व्यवहार भोग्दै आएको छ। माधवीको मुख्य काम सार्वजनिक स्थलमा नगरप्रमुखलाई भिडभिडमा सुरक्षा प्रदान गर्नु थियो।

“त्यस बेला एउटा ‘फ्याशन शो’ भएको थियो। मैले त्यसमा ‘क्याटवाक’ गरेकी थिएँ,” माधवीले बीबीसीसँग भनिन्। माधवीको आरोपअनुसार नगरप्रमुख उक्त कार्यक्रमबाट अकस्मात् उठेर हिँडेकी थिइन् र उनले पछि त्यस विषयमा कडा सोधपुछ गरिन्।

“उनले मलाई किन मञ्चमा क्याटवाक गरेको भनेर सोधिन्। तर उक्त कार्यक्रममा भएका घटनाबारे अन्य कुनै छलफल भएन,” माधवीले भनिन्। “त्यसयता मैले लगाउने लिपस्टिकको रङ्गलाई मविरुद्ध हतियारका रूपमा प्रयोग गरिएको छ।”

माधवीका अनुसार उक्त घटनाको केही दिनपछि नगरप्रमुखका निजी सहायकले सबै कर्मचारीलाई चहकिलो लिपस्टिक नलगाउन मौखिक चेतावनी दिएका थिए। माधवीलाई उक्त कुरा चित्त बुझेन।

“यो मेरो शरीर हो र मैले के लगाउने वा नलगाउने, कस्तो रङ्गको लिपस्टिक लगाउने भन्ने मेरो नितान्त व्यक्तिगत अधिकारको कुरा हो। उनीहरू को हुन् यो विषयमा मलाई निर्देशित गर्ने ?”

अगस्ट ६ तारिखका दिन उनी कार्यालयमा ढिलो पुगेपछि उनीसँग लिखित स्पष्टीकरण सोधियो। बीबीसीले हेरेको उक्त पत्रमा आफ्नो जिम्मेवारीमा हेलचेक्र्याइँ गरेको, समयको अनुशासन पालना नगरेको, आफूभन्दा माथिल्ला अधिकारीको निर्देशन पालना नगरेको र ‘कार्यालयका निर्देशिकाहरू’ पालना नगरेको जस्ता कुराहरू उल्लेख छन्।

माधवीले खुट्टा भाँचिएका कारण बिहानको भिडभाड बढी हुने समयमा यात्रा गर्न गाह्रो भएकाले गर्दा कार्यालय पुग्न ढिलो भएको बताएकी छन्।

चेन्नईमा ७० भन्दा बढी मानिसको बसोबास छ। धेरै पहिलादेखि उक्त सहरका आर्थिक गतिविधिमा महिलाहरू पनि सहभागी हुँदै आएका छन्।

नगरप्रमुख राजन स्वयं तमिलनाडू राज्यको सत्ताधारी क्षेत्रीय दल ‘द्रविड मुन्नेत्र कझगम’ (डीएमके) की सदस्य हुन्। उक्त पार्टीले आफूलाई प्रगतिशील राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्ने गर्छ। तर यो विवादले उक्त दलको छविमा केही प्रश्न खडा गरेको छ।

माधवीलाई सरुवा गर्ने आदेशका विषयमा सामाजिक सञ्जालमा धेरै चर्चा परिचर्चा भएको छ। भारतका अधिकारवादीहरूले उनको सरुवाको आलोचना गरेका छन्।

चेन्नईस्थित महिला अधिकारवादी कार्यकर्ता निवेदिता लुइस भन्छिन्, “यदि माधवीको आरोप सत्य हो भने हामीले सरकारी कार्यालयहरूमा महिलामाथि त्यस्तो नैतिक व्यवहारको निगरानी गर्ने धारणा लाद्ने ती व्यक्तिहरू को हुन् भनेर प्रश्न गर्नुपर्ने हुन्छ।” उनले माधवीमाथिको दण्डनीय व्यवहारलाई “अतिशयोक्तिपूर्ण” भनेकी छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.