एमसीसीको भ्रमजालमा नेपाललाई फँसाउन अमेरिका र प्रमं प्रचण्डको साँठगाठ : डा. रावल
नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसी परियोजनाको नाममा नेपाललाई फँसाउन अमेरिका र प्रप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साँठगाठ रहेको आरोप लगाउनुभएको छ ।
एमसीसी कार्यान्वयनमा गैसकेपछि त्यसका पदाधिकारी निरन्तर नेपाल आउने क्रममा आयोजना प्रमुख नेपाल आउनु र प्रधानमन्त्री प्रचण्डको सहभागितामा भोज आयोजना हुनु गम्भीर साँठगाठ रहेको डा. रावलले आशंका गर्नुभएको हो ।
डा. रावलले बिहिबार ट्वीट गर्दै भन्नुभएको छ, “के कुनै देशले दिने अनुदानमा यति ठूलो दवाव, घूसपैठ, समारोह र राजनीति गर्नुपर्छ ? तथ्यबाट स्पष्ट हुन्छ यो हिन्दप्रशान्त साममरिक रणनीतिको अंग हो । नेपाललाई त्यसको भूमरीमा फँसाइदैछ ।”
त्यसै गरी उहाँले “एमसीसीकी प्रमुखले नेपालको संसदबाट पारित व्याख्यात्मक घोषणा अमेरिकाले मानेको भनी प्रचार गरेर एमसीसीको पक्षमा जनतालाई भ्रमित पार्ने चेष्टा हुँदै गरेको” पनि बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “यदि अमेरिकाले व्याख्यात्मक घोषणा मानेको हो भने उक्त घोषणा सम्झौताको अंग बनेको भनी नेपाललाई लेखेको पत्र सार्वजनिक गरियोस् । होइन भने त्यस्तो प्रचार नेपाली जनतालाई झुक्याउने हतकण्डा भएको स्वतः प्रमाणित हुन्छ ।”
प्रतिक्रिया राख्नुहोस्