द्वन्द्वले युक्रेनमा १५० अर्ब डलरको क्षति, समर्थनमा उभिन ५० देश भेला हुँदै
जारी रुस–युक्रेन द्वन्द्वले यस वर्षको सेप्टेम्बरसम्ममा युक्रेनको पूर्वाधारमा एक सय ५१ अर्ब २० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति पुगेको इन्टरफ्याक्स–युक्रेन समाचार समितिले जनाएको छ ।

किएभ स्कुल अफ इकोनमिक्सको अध्ययनअनुसार द्वन्द्वले सबैभन्दा बढी आवास क्षेत्र प्रभावित भएको छ । युद्धका कारण करिब एक लाख ६७ हजार दुई सय निजी घर, अपार्टमेन्ट भवन र छात्रावासहरू नष्ट वा क्षतिग्रस्त भएका छन् ।
त्यसै गरी दुई मुलुकबीच द्वन्द्व सुरु भएयता युक्रेनमा १८ वटा विमानस्थल र सिभिल एयरफिल्डका साथै तीन सय ४४ पुल र ओभरपास क्षतिग्रस्त भएका छन् भने कम्तीमा चार सय २६ ठूला र मध्यम आकारका उद्यमहरू प्रभावित भएका छन् ।
पश्चिमी प्रतिबद्धता केही कमजोर भएको बेला युक्रेनको पक्षमा उभिन जोड दिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् ।
यसैबीच युरोपेली राजनीतिक सामुदायिक मञ्चको बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी हुनुहुन्छ । उक्त मञ्च सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसले गरेको आक्रमणको परिप्रेक्ष्यमा गठन भएको थियो ।
उक्त आक्रमणसँगै युरोपको राजनीतिक एजेन्डालाई धेरै हदमा फरकरूपमा स्थापित गर्यो र यस महादेशमा शान्ति र स्थायित्वमा लामो समयदेखि कायम विश्वासलाई मूलभूतरूपमा कमजोर बनायो ।
राजनीतिक, आर्थिक र सैन्य सहयोगका बावजुद युक्रेनी क्षेत्रमा रुसी आक्रमणबाट मुक्त बनाउने दिशामा गतिरोध कायमै छ । यद्यपि ग्रानाडामा युरोपेली नेताहरू युक्रेनको पक्षमा एकजुट भएको कुरामा जोड दिन इच्छुक छन् ।
“जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट हुने खतराको सामना गर्ने कुरा आउँछ, एकतामा शक्ति हुन्छ”, बेलायती प्रधानमन्त्री ऋषि सुनकले भन्नुभयो ।
बिहीबार जेलेन्स्की ग्रानाडामा आइपुग्दा युरोपेली नेताहरूले यस्तो सन्देश दिनेछन् । यसै वर्षको सुरुमा जेलेन्स्की मल्दोभामा भएको इपीसीको दोस्रो बैठकमा पनि उपस्थित भएका थिए । जेलेन्स्कीले सबै सहयोगीहरूलाई थप सहयोग र सैन्य सहायता उपलब्ध गराउन अगाडि आउन आग्रह गर्ने अपेक्षा गरिएको छ ।
“जाडो याम नजिकिँदै गर्दा युक्रेनको मुख्य प्राथमिकता भनेको हवाई प्रतिरक्षालाई सुदृढ गर्नु हो, हामीले पहिला नै साझेदारहरूसँग नयाँ सम्झौताहरूको आधार तयार गरिसकेका छौँ र अब उनीहरूको अनुमोदन र कार्यान्वयनका लागि तत्पर छौँ”, जेलेन्स्कीले एक विज्ञप्तिमा भन्नुभयो, “यो युक्रेन र समग्र युरोपका लागि फलदायी दिन हुनुपर्छ ।”
प्रतिक्रिया राख्नुहोस्