विश्व समाचार

इरानको जेलमा रहेकी पत्रकार नरगिसलाई नोबेल शान्ति पुरस्कार

यस वर्षको नोबेल शान्ति पुरस्कार इरानको जेलमा रहेकी पत्रकार तथा मानवअधिकार अभियन्ता नरगिस मोहम्मदीलाई दिइने भएको छ ।

शुक्रबार ३ सय ५० जना मनोनितबाट रोयल स्विडिस एकेडेमीले ५१ वर्षीयाा नरगिसलाई शान्ति पुरस्कार २०२३ को विजेता घोषणा गरेको हो ।

उनी इरानमा महिलामाथि हुने गरेको शोषणविरुद्ध पत्रकारितामार्फत आवाज उठाउँदै आएकी उनलाई यसै वर्ष संयुक्त राष्ट्रसंघले प्रेस स्वतन्त्रता पुरस्कार दिएको थियो ।

नरगिसलाई इरान सरकारले तेहरानस्थित कुख्यात इभिन कारागारमा राखेको छ । इरानमा मानवअधिकारविरुद्धको लडाइँमा नरगिस पर्यायवाची शब्द बनेको यसअघि नै सीएनएनले प्रकाशित गरेको रिपोर्टमा उल्लेख गरेको छ ।

विभिन्न मुद्दामा पटक–पटक जेल परेकी नरगिस पछिल्लो पटक भने राष्ट्रिय सुरक्षामाथि आँच आउने र राज्यविरुद्ध दुष्प्रचार गरेको आरोपमा जेल परेकी हुन् ।

उनी सन् २०२१ नोभेम्बर १६ मा इब्राहिम केताबदरको स्मृति समारोहमा सहभागी भएका बेला पक्राउ परेकी हुन् । इब्राहिम २०१९ को नोभेम्बरमा राष्ट्रव्यापी प्रदर्शनका क्रममा इरानी सुरक्षा फौजबाट मारिएका थिए ।

उनलाई १३ पटक पक्राउ गरिएको छ भने जम्मा ३१ वर्ष जेल सजाय सुनाइएको छ । पछिल्लो पटक नरगिसलाई १० वर्ष ९ महिना जेल सजाय सुनाइएको छ । थप १५४ कोर्रा सजाय सुनाइए पनि उक्त सजाय अहिलेसम्म दिइएको छैन ।

उनीमाथि यात्रा र अन्य प्रतिबन्ध पनि लगाइएको छ । नरगिसको साहसिक संघर्षले व्यक्तिगत रूपमा ठूलो क्षति भोग्नुपरेको रोयल स्विडिस एकेडेमीले जनाएको छ ।

हिलो पटक नोबेल शान्ति पुरस्कार सन् १९०१ मा रेडक्रसका संस्थापक ज्याँ हेनरी ड्युना र फ्रेन्च पिस सोसाइटीका संस्थापक अध्यक्ष फ्रेडरिक प्यासीलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्यतर्फको नोबेल पुरस्कार विजेता घोषणा भइसकेको छ । नोबेल विजेताले १ करोड १० लाख स्विडिस क्रोनर (९ लाख ९७ हजार अमेरिकी डलर) र पदक प्राप्त गर्नेछन् । यस वर्षबाट पुरस्कारमा १० लाख स्विडिस क्रोनर बढाइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.