जन सरोकार

कास्कीको किम्रोङखोला थुनियो, मोदीखोलामा बाढीको जोखिम

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हुँदै बग्ने किम्रोङ खोला पहिरोले थुनिएको छ । थुनिएर बनेको तालका कारण कास्की र पर्वत हुँदै बग्ने किम्रोङ र मोदी खोलामा बाढीको जोखिम बढेको छ ।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङका अनुसार खोला किनारमा रहेको अग्लो पहाडबाट ठूलो पहिरो खसेपछि शनिबार रातिदेखिनै खोला थुनिएको हो ।

आज बिहान करिब ११ बजेतिरबाट थुनिएको भागको छेउतर्फबाट विस्तारै पानी बग्न थालेको भए पनि खोलामा निकै ठूलो ताल बनेकाले मोदीखोला आसपासका नागरिकलाई सतर्ककता अपनाउन आग्रह गर्नुभएको छ ।

खोलाको बहाब घटिसकेकाले ठूलो जोखिमको सम्भावना कम भए पनि मोदी खोला किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको पर्वतका प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यले बताउनुभयो ।

प्रहरीलाई कुश्मा नगरपालिकाको दोविल्लादेखि पातीचौर, डिमुवा, नयाँ पुललगायतका स्थानमा पुगेर माईकिङ गर्न र स्थानीयलाई सकर्तकता गराउनका लागि परिचालन गरिएको आचार्यले बताउनुभयो ।

“केहीबेर अगाडिबाट तालको छेउबाट विस्तारै पानी बग्न थालेको छ । तर पानीको चाप धेरै भएर थुनिएको भाग एकै पटक खोलियो भने किनार आसपासमा सतर्कता अपनाउन भनिएको छ” अन्नपूर्ण–११ का वडाध्यक्ष गुरुङले बताउनुभयो । किम्रोङ खोला मोदी खोलामा आएर मिसिने भएकाले नदीको बहाब बढ्दा जोखिम पनि बढेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.