जन सरोकार

वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थलका धारामा आउँदैन खानेपानी

राजधानीमा मेलम्चीको पानी आइपुग्ने वाग्मतीको मुहान रहेको काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजलमा मुख्य ट्याङ्की अवस्थित छ ।

सुन्दरीजल वाग्मती र मेलम्चीको पानी वितरण गरिने मुख्य स्थल भए पनि सोही क्षेत्रकै धारामा खानेपानी नआउँदा स्थानीयवासी पानी खोज्दै हैरानीमा पर्न थालेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नं १ बाट २७.५ किमी सुरुङको दूरी पारगरी आउने मेलम्चीको पानी गोकर्णेश्वर नगरपालिका वडा नं १ महाँकालमा प्रशोधन हुन्छ ।

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन् ।

हिउँदमा यहीँबाट वाग्मती नदीको करिब नौ करोड लिटर पानी राजधानीका विभिन्न स्थानमा वितरणका लागि लगिन्छ । वर्षाद्का समयमा यहाँको वाग्मतीबाट करिब १३ करोड लिटर पानी राजधानीमा वितरण गरिन्छ ।

यस क्षेत्रका गोकर्णेश्वर र कागेश्वरी मनोहरा दुई नगरपालिकाका अधिकांशले मेलम्चीको परैजाओस् पहिलेदेखि राजधानीमा वितरण गरिने वाग्मती नदीको पानी पनि पाउन सकेका छैनन् । खानेपानीको समस्या भएपछि यहाँका स्थानीयवासी परम्परागत ढुङ्गेधारा र कुवामा निर्भर हुनुपर्ने बाध्यता छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ डाँछीका स्थानीय राममाया नगरकोटी खानेपानी लिन गोकर्णेश्वर नगरपालिका वडा नं १ को रुप्सेटार भन्ने स्थानको धारामा जानुपर्ने बाध्यता रहेको दुःखेसो पोख्नुहुन्छ ।

खानेपानी लिनका लागि करिब आधा घण्टाको पैदल यात्रा गरेर जाने र आधा घण्टा पैदल यात्रा गरी आउने एवं कहिले त पानीका लाइनमा एक घण्टा बस्दा दुई घण्टा समय १० लिटर खानेपानी खोज्दैमा बित्ने गरेको उहाँ बताउनुहुन्छ ।

धारामा धेरै मानिस खानेपानीका लागि लामममा बस्ने गरेकाले घण्टौँ कुर्नुपर्ने बाध्यता रहेको नगरकोटीको अनुभव छ । यस्तो समस्या भोग्ने नगरकोटी मात्र होइन यहाँका हजारौँको समस्या हो ।

आधारभूत खानेपानी सेवा बिस्तार गर्ने विषयलाई नगरपालिकाले प्राथमिकतामा राखे पनि स्थानीय सरकारले एक कार्यकाल पूरागरी अर्को कार्यकालको आधा समय बितिसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।

स्थानीय सरकारले विभिन्न खानेपानी आयोजना पूरा गरेको प्रतिवेदन बनाए पनि दिगो हुन नसक्दा संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको स्वच्छ खानेपानीको हकबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ ।

विगतदेखि नै गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधिले मुहानवासीले नै खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा बगाउने धम्की दिने गरे पनि खानेपानीको समस्या समाधान हुन सकेको छैन ।

गोकर्णेश्वरका नगर प्रवक्ता नारायणबहादुर सुवेदी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले विछ्याउनुपर्ने पाइप नगरपालिकाकै बजेटबाट राखेर पानी माग गर्दा पनि समस्या समाधान नभएर नगरवासीले दुःख पाएको स्वीकार्नुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.