संस्कृतिसाहित्य

‘शिवलिङ्गभित्रको विज्ञान’ जान्न चाहनेहरुका लागि आयो ग्रन्थ

हिन्दु धमावलम्बीहरुका आराध्यदेव महादेवको पूजाआराधना शिवलिङ्गका बारेमा अनेक चर्चा, परिचर्चा, विवाद र बहस गर्दै यसलाई अश्लीलतासंग समेत जोड्ने गरिएको छ ।

हिन्दुधर्म बिरोधीहरुले जेसुकै आरोप लगाए पनि शिवलिङ्गको अर्थ र यसभित्र लुकेको गुणरहस्य तथा विज्ञानसम्मत विषयहरुका बारेमा शास्त्रले स्पष्ट उल्लेख गरेको छ ।

यसै तथ्यलाई टेकेर नेपालको इतिहास एवं धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ कृति सार्वजनिक भएको छ ।

अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी आज मंगलबार पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको हो ।

शोधकर्ता सोडारीले यसअघि पनि ‘के ईश्वर छ ?’, ‘साधनाको अनन्त यात्रा डा स्वामी प्रपन्नाचार्य’ र ‘धर्मभित्रको विज्ञान’ कृति प्रकाशन गरिसक्नुभएको छ ।

एउटा अनुवाद र २२ वटा ग्रन्थ सम्पादन गर्नुभएका सोडारीले यस ग्रन्थमा तन्त्र, मन्त्र, यन्त्रसहित साधनाका विषयलाई प्राथमिकता दिनुभएको छ ।

झण्डै १३ वर्षको अनुसन्धानपछि पुस्तक तयार भएको लेखक सोडारीले जानकारी दिनुभयो । वेदका अध्येता गुरु डा स्वामी प्रपन्नाचार्यको आशीर्वचन राखी नेपालको माटोदेखि मठमन्दिर, शिवालय, देवस्थल, तीर्थस्थलको महिमालाई मुख्य विषयवस्तु बनाइएको उहाँले जानकारी दिनुभयो ।

ऋषिमुनि, साधक, साधनाको गरिमालाई वैज्ञानिक दृष्टिले हेर्ने चिन्तनलाई सोडारीले तीन सय ५६ पृष्ठको यस कृतिमा समावेश गर्नुभएको छ । अन्तिम खण्डमा पुस्तकमा वर्णित तथ्यलाई पुष्टि गर्ने ३५ वटा चित्र समावेश गरिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.