जापान

जापानी राजदूत गण्डकी प्रदेशमा पुग्दा

मंगलबार नेपालका लागि जापानी राजदूत किकुता युताका गण्डकी प्रदेश पुग्नुभयो । उहाँले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसंग भेटवार्ता गर्दै गण्डकी प्रदेश सरकारसँग सहकार्य हुने मुख्यमन्त्री पाण्डेलाई विश्वास दिलाउनुभयो ।

भेटवार्ताका क्रममा मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक भएको बताउनुुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले प्रदेशको स्रोतसाधनले मात्रै सबै काम गर्न सम्भव नभएको तथा भौगौलिक विकटताका कारण पनि पूर्वाधार निर्माण खर्चिलो भएको बताउनुुभयो ।

विभिन्न देश र दातृ निकायको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गति सँगसँगै लैजानुपने उल्लेख गर्दै उहाँले नेपालमा जापान सरकारले गरेका सहयोगको स्मरण गर्नुभयो ।

नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, विद्यालय निर्माणलगायत काममा जापान सरकारले महत्वपूर्ण सहयोग गरेको बताउनुुभयो ।

जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै उहाँले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेकामा जोड दिनुुभयो ।

विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्वतयारी र त्यसपछिको पुनःनिर्माण सिक्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भूकम्प, बाढीपहिरो जस्ता विपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको धारणा राख्नुुभयो ।

त्यस अवसरमा राजदूत युताकाले जापान सरकार र यस अन्तर्गतका दातृनिकायले नेपालमा निरन्तर गर्दै आएको सहयोग आगामी दिनमा पनि जारी रहने बताउनुभयो । जापान सरकारले नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उहाँको भनाइ थियो ।

भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्रीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.