जन सरोकार

दसैँमा चितवन प्रहरी चौबिसै घण्टा हाइअलर्टमा, ठाउँठाउँमा सरप्राइज चेकिङ

नजिकिँदै गरेको दसैँ, तिहार र छठमा चितवन प्रहरी चौबिसै घण्टा ‘हाइअलर्ट’मा रहने भएको छ । मङ्गलबार पत्रकार सम्मेलन गरेर चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै चितवन प्रहरीले चाडपर्वमा भरपर्दाे शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले बसपार्कलगायत मानिसको भीडभाड हुने ठाउँमा हाइअलर्टमा रहने जनाएको हो ।

चाडपर्वमा हुनसक्ने लुटपाट, डकैती, सवारी दुर्घटना र समाजमा हुनसक्ने चोरी, लुटपाट, मादक पदार्थ सेवन गरी होहल्ला, झै–झगडा, गुण्डागर्दी जस्ता आपराधिक गतिविधिहरुलाई दृष्टिगत गरी त्यस प्रकारका कुनै पनि घटना हुन नदिने तयारी प्रहरीको सुरक्षा योजनामा समावेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार समाजलाई भयमुक्त वातावरण बनाउने र कुनै अप्रिय घटना घटेमा तत्काल सुरक्षा कारबाही गरी भरपर्दो शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले चाडपर्व लक्षित विशेष सुरक्षा योजना निर्माण गरिएको हो ।

प्रनाउ पण्डितले सुरक्षा योजना सार्वजनिक गर्दै सहरका भीडभाड हुने ठाउँ र बसपार्कहरुमा चौबिसै घण्टा प्रहरी अलर्टमा रहने बताउनुभयो । प्रहरीले बसपार्कमा यात्रुको पीरमर्का बुझ्न यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । उहाँका अनुसार जिल्लामा पुलचोक, पोखरा बसपार्क, केन्द्रीय पारस बसपार्क, मुग्लिन बजारमा सहायता कक्षा रहने छन् ।

“यस्तै चितवनका एक सय १७ टोलसुधारसँग समन्वय गरेर प्रहरीले सुरक्षाको रणनीति बनाइएको छ । प्रहरीको सुरक्षा योजनामा कमान्ड पोष्ट, रिजर्भ, स्ट्रइकिङ, क्युआरटी परिचालन, सिमानामा चेकजाँच, अस्पतालमा उद्धार टोली र १२ वटा समूहमा ट्राफिक सहितको संयुक्त चेकिङ हुनेछ”, प्रनाउ पण्डितले भन्नुभयो, “प्रहरीले दसैँतिहार र छठलाई लक्षित गरेर ठाउँठाउँमा सरप्राइज चेकिङ, सवारीसाधनद्वारा मोबाइल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, राजमार्ग गस्ती सञ्चालन गर्नेछ ।”

प्रहरीले चितवनका धार्मिक र पर्यटकीयस्थलको सुरक्षा गर्नाका साथै बैङ्क, सुनचाँदी र आर्थिक कारोबार हुने स्थानको सुरक्षालाई पनि प्राथमिकतामा राखेको छ । सादा पोसाकमा चेकजाँच र बजार अनुगमन गर्नाका साथै मापसे चेकजाँचलाई पनि सञ्चालन गर्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.