जन सरोकार

भारतीय मूर्तिलाई विस्थापित गराउँदै नेपालगञ्जका मूर्तिकार

नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि भारतीय सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । दसैँको नवदुर्गामा नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले नेपालगञ्जमै निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् ।

नेपालगञ्जका मूर्तिकार

नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूृर्ति बनाउन भ्याइनभ्याइ छ । नगरभवन सामुन्नेमा अस्थायी टहरा निर्माण गरेर उहाँले एक महिनादेखि मूर्तिको काम गर्दै आउनुभएको छ । घटस्थापनाको दिनसम्म माग आएका सबै मूृर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काम भइरहेको उहाँले बताउनुभयो ।

“तीस पैतीस जति मूृर्ति तयारी अवस्थामा छन् अरु त्यत्ति तयारी हुँदैछ, अहिले कामले भ्याइनभ्याइ छ”, कलाकार केवटले भन्नुभयो, “आजभोलि मूृर्ति किन्न भारत जानुपर्दैन नेपालगञ्जमै ठाउँठाउँमा बन्ने गरेका छन् ।”

उहाँका अनुसार, सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले मूृर्ति बनाउने गरिन्छ । तर मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिन्छ । दसैँको समयमा केही मूृर्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कैरातीपुर निवासी राजकुमार हरिजनको दैनिकी माटोसँगै बित्छ । दिनरात उहाँ माटोबाट भगवानका विभिन्न आकृति बनाउन व्यस्त हुनुहुन्छ । नेपालगञ्ज–कोहलपुर सडकको किनारमा निर्मित अस्थायी टिनको टहराभित्र र बाहिर यतिबेला बन्दै गरेका भगवानको आकृति भरिभराउ छन् । सानै उमेरदेखि मूृर्ति बनाउने काम गर्दै आउनुभएका उहाँको यो पुख्र्यौली पेसा हो ।

बाँकेको जानकी गाउँपालिकाबाहेक सदरमुकाम नेपालगञ्जमा पनि तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवान्को मूृर्तिबनाएर बिक्री वितरण हुने गरेको छ । दसैँ नजिकिँदै जाँदा मूृर्तिकारको दैनिकी व्यस्त भएको छ । अहिले माटोको मूृर्ति बनाउन भ्याइनभ्याइ छ । तराईमा–दसैँको बेला घटस्थापनाका दिनदेखि टोल–टोलमा माटोबाट बनेका भगवान्को मूृर्तिमा पूजा गर्ने चलन छ ।

“पहिला घरमा सानो–सानो मूृर्ति बनाउँथ्यौँ पछि ठूलो बनाउन लागेँ । दुर्गा मातालगायत सबै प्रकारको मूृर्ति बनाउने गरेको छु”, हरिजनले भन्नुभयो, “नवरात्रको बेला सिजन हो । पराल, बाँस, माटो, काठ किल्ला, डोरी लाग्छ । मेहनत धेरै छ ।”

उहाँका अनुसार रु २० देखि २५ हजारको एउटा मूृर्ति बिक्री गर्दा रु चारदेखि पाँच हजारसम्म नाफा हुने गर्दछ । हरिजनले आफूजस्तै अन्य छ जनालाई रोजगारीसमेत दिनुभएको छ । उनीहरुले रु १० हजारदेखि रु २० हजारसम्म पारिश्रमिक पाउने गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–८ रानी तलाउ नजिकै मूृर्ति बनाउँदै आएका सन्दीपकुमार वंशकारले डेढ महिनाअघिदेखि माटोबाट तयार पारिएका देवीदेवताको आकृतिमा यतिबेला रङरोगन गर्न भ्याइनभ्याइ भएको बताउनुभयो ।

उहाँका अनुसार, यतिबेला कालीगढ मूर्तिरुमा देवदेवीका बाहन र उनीहरुले प्रयोग गर्ने अस्त्रको रङरोगनमा व्यस्त छन् । दुर्गा, लक्ष्मी, गणेश, कार्तिके, बाघ, मुसा, राँगा, सर्प र देवीदेवताका मूृर्ति तयार भएका छन ।

दुर्गा भगवती, बाघ, भैँसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिकेलगायतका मूर्ति बानउनका लागी एक महिना अगाडि बुक गर्ने गरेको वंशकारले जानकारी दिनुभयो । मूृर्तिको लागि चाहिने औजार र सजावटका सामग्री भारती बजार रुपैडिहाबाट खरिद गरी ल्याउने गरिएको छ । बाँकेको सदरमुकाम नेपालगञ्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा, नरैनापुरमा समेत दसैँको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने हुँदा मूृर्तिको माग बढ्दै गएको पाइएको छ ।

बाँकेमा माटोबाट मूृर्ति बनाउने मूर्र्तिकार सङ्गठित हुन सकेका छैनन् । यसका कारण मूृर्तिको दर मूल्यमा पनि एकरुपता छैन । “सबैले आ–आफ्नै तरिकाले मूर्र्ति बिक्री गर्ने गरेका छौंँ, चिने जानेको नियमित ग्राहकसँग छुट गर्ने पनि गरिएको छ”, नेपालगञ्ज–७ फुल्टेक्राका मूर्तिकार मुकेश गुप्ताले भन्नुभयो, “धेरैजसो रेगुलर ग्राहक छन् तर चिनेको आधारमा एकजनालाई छुट गर्दा धेरैजनासँग घाटा खानुपरेको छ ।”

हस्तकलाको क्षेत्रमा लागेका व्यक्तिलाई सरकारी निकायले चासो नदिएकोमा मूृर्तिकारको गुनासो छ । “आफैँ सीप सिकेरै यहाँसम्म आएका छौँ”, उहाँले भन्नुभयो, “आवश्यक सीप र नयाँ प्रविधिका बारेमा जानकारी गराउने हो भने अझै राम्रो गर्न सक्ने छौँ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.