गण्डकीप्रदेश

तालचोक–बेगनास सडक अब चार लेन

पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ ।

“ठेक्का सम्झौता भएको एक वर्षपछि बल्ल निर्माण सुरु भएको हो”, महानगरका इन्जिनियर जगन्नाथ कोइरालाले भन्नुभयो, “सरासर काम भयो भने विसं २०८१ भित्र सडक बनिसक्छ, निर्माण कम्पनीको प्रतिबद्धता पनि त्यही छ ।”

विश्व बैंकको सहयोगमा उक्त सडकको स्तरोन्नति योजना अगाडि बढेको उहाँले बताउनुभयो । तीन दशमलव २८ किमीको चार लेन सडक बनाउने जिम्मा ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले पाएको इन्जिनियर कोइरालाले बताउनुभयो ।

“रु एक अर्ब ४९ करोडको लागत योजना रहे पनि निर्माण कम्पनीसँग भ्याटबाहेक रु ७५ करोड ४८ लाखमा ठेक्का सम्झौता भएको हो”, उहाँले भन्नुभयो, “फुट ट्रयाक, साइकल लेन र पार्किङसहितको नमूना सडक बन्दैछ ।”

सडक छेउछाउमा बगैँचा, सडकबत्ती लगायत आकर्षक पूर्वाधार बनाइने महानगरले जनाएको छ । सडकमा तीन पुल पनि बन्नेछन् । अहिले सडक विस्तार, नाला र पर्खाल निर्माणको काम भइरहेको इन्जिनियर कोइरालाले बताउनुभयो । दसैँअघि मार्ग खुलेर पनि सडक स्तरीय नहुँदा सो क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए ।

सो सडक बेगनास, रुपा गाउँपालिका हुँदै लमजुङ जोडिन्छ । पोखरा–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले तालचोक–बेगनास सडक स्तरोन्नति महानगरकै गौरव गर्न लायक योजना रहेको सुनाउनुभयो ।

“विस्तारै कामले गति लिइरहेको छ, केही ठाउँमा जग्गाको मादपण्डबारे स्थानीयले उठाएको मागका विषयमा पनि अध्ययन गर्न समिति गठन गरिएको छ”, उहाँले भन्नुभयो, “समयमै काम सक्न दातृ निकाय र निर्माण कम्पनीलाई सबैको सकारात्मक सहयोग चाहिन्छ ।”

निर्माण कम्पनीले काममा कुनै बाधा नआए तोकिएको समयभित्रै निर्माण पूरा गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष गुरुङले बताउनुभयो । “परामर्शदाता कम्पनी पनि काममा कुनै ढिलाइ नहोस् भन्नेमा सचेत देखिन्छ, जनप्रतिनिधिलाई पनि झक्झाइरहनुभएको छ”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष गुरुङले चार लेनको सडक बनेमा सात तालको बाटिका भनेर चिनिने सिङ्गो लेखनाथ क्षेत्रको विकासले कोल्टे फेर्ने बताउनुभयो । तालचोक–बेगनास सडक पोखरा–मुग्लिन राजमार्गसँग पनि जोडिएकाले आर्थिक र पर्यटन गतिविधि थप बढ्ने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक पनि अहिले चार लेनमा स्तरोन्नति भइरहेको छ ।

कमसल सडककै कारण पछिल्लो समय बेगनास ताल घुम्न जाने पर्यटक घटेकामा स्तरोन्नति कार्य बेलैमा सक्नुपर्ने बेगनास तालका डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डेले बताउनुभयो । निर्माणका चरणमा भएकाले पर्यटकका लागि उक्त सडकको यात्रा कष्टपूर्ण बनेको उहाँले बताउनुभयो ।

मुख्य पर्यटकीय याममै बेगनास क्षेत्र घुम्न जाने पर्यटकको सङ्ख्या घटेको जनाइएको छ । “चार लेनको सडक बन्दा बेगनास क्षेत्रको आउजाउ सजिलो बन्छ, यहाँको पर्यटनले पनि नयाँ गति लिन्छ”, पाण्डेले भन्नुभयो, “सडक निर्माणमा ढिलासुस्ती हुन दिनु हुँदैन, महानगर पनि यसमा चनाखो रहनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.